प्रसिद्ध बच्छेश्वर मन्दिर पुग्ने पदमार्ग निर्माण

Image result for पदमार्ग निर्माण

पर्वत, ११ भदौ । पर्वतमा पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष र सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेकाले त्यसलाई सफल बनाउनका लागि पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्रगतिमा भइरहेको हो ।

गत आर्थिक वर्षदेखि पर्वतमा झण्डै एक दर्जनभन्दा बढी पदमार्ग र ४८ स्थानमा होमस्टे सेवा निर्माण भएका छन् । जिल्लाको विकट गाउँ बिहादी गाउँपालिका–१ बाच्छामा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बच्छेश्वर जाने पदमार्ग निर्माण सम्पन्न भएको छ । झण्डै रु ३० लाखको लागतमा बाच्छा देउरालीदेखि बच्छेश्वर मन्दिरसम्मको पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको हो ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा एक किलोमिटर लामो पदमार्ग निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । जसमा एक हजार ३३९ वटा सिँढी रहेका छन् । पदमार्ग निर्माण भएपछि कालीगण्डकी करिडोर हुँदै आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मन्दिरसम्म पुग्न सहज भएको छ । त्यसैगरी बच्छेश्वर हुँदै पर्यटकीयस्थल गोल्र्याङधाममा जानका लागि पनि सहज भएको पदमार्ग निर्माण समितिका अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारका पर्यटनमन्त्री विकास लम्सालको पहलमा बजेट विनियोजन भएपछि पदमार्गसँगै गाउँमा होमस्टेसमेत विस्तार भएको छ ।

पदमार्ग बनेपछि गाउँमा दुईवटा होमस्टेसमेत सञ्चालनमा आएका छन् । बच्छेश्वर सामुदायिक होमस्टे र सालडाँडा सामुदायिक होमस्टे सञ्चालनमा आएका हुन् । दुईवटै होमस्टेका लागि प्रदेश सरकारले रु १० लाखका दरले विनियोजन गरेको थियो । उक्त रकमबाट दुईवटा समाजघर निर्माण भएका छन् । गाउँमा आउने पर्यटकलाई समाजघरमा स्वागत गर्ने र खाना खुवाएपछि गाउँमा सञ्चालित होमस्टेमा बास बसाउने गरी व्यवस्था मिलाइएको पदमार्ग निर्माण समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।

उनका अनुसार गुरुङ संस्कृति, स्थानीय अर्गानिक खाना, लोकल कुखुरा, लोकल मदिरा, सिन्कीको अचार, भट्ट, मकै, कोदोको ढिडोलगायत गाउँमा उत्पादित तरकारीका परिकार पर्यटकलाई दिन थालिएको छ । त्यतिमात्र हैन साँझमा गुरुङ संस्कृतिसमेत देखाउने गरिएको छ । सालैजो, यानीमाया, सुनिमाया, सोरठी तथा महिला पुरुषबीच र आउने बाह्य पर्यटकसँग स्थानीय महिलाको दोहोरी गीतसमेत गाएर पर्यटकलाई मनोरञ्जन दिने व्यवस्थासमेत गाउँमा गरिएको छ ।

पछिल्लो समय बढ्दो युवा पलायनका कारण रित्तिँदै गएको गाउँमा होमस्टे र पदमार्ग निर्माणले चहलपहल बढाएको स्थानीयवासी नन्दु गुरुङले जानकारी दिए । उनले भने “रोजगारी खोज्दै पलायन हुनु यहाँको बाध्यता थियो, अहिले केही मात्रामा रोकिएको छ ।” यहाँका अधिकांश गुरुङ समुदायका परिवार बेलायत, हङकङमा बसोबास गर्दै आएका छन् भने युवाको ब्रिटिस आर्मी र भारतीय सेनामा बढ्दो आकर्षण रहेको उनले बताए ।

हराउँदै जान थालेको गुरुङ संस्कृतिको जगेर्ना गर्नका लागि तमु सङ्ग्रहालय निर्माणको काम पनि धमाधम भइरहेको छ । पुरातत्व विभागको सहयोगमा गुरुङ सङ्ग्रहालय निर्माणको कामले तीव्रता पाएको हो । चित्रबहादुर गुरुङ र स्थानीय युवा सविन गुरुङ लगायतको पहलमा सङ्ग्रहालयको निर्माणकार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।

सदरमुकाम कुश्माबजारबाट झण्डै ३० किलोमिटरको दूरीमा रहेको उक्त गाउँमा भ्रमण वर्षमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधाजनक रुपमा राख्न सकिने होमस्टे सञ्चालक सविन गुरुङले बताए । सडकसमेत स्तरोन्नति भइरहेकाले मध्यपहाडी लोकमार्गबाट डेढ घण्टाको यात्रामा उक्त गाउँमा पुग्न सकिने जनाइएको छ । होमस्टेमा दैनिक १०० भन्दा बढी पर्यटकलाई राख्न सकिने गरी व्यवस्थापन गरिएको बताइएको छ ।

पर्वतमा गत वर्ष पैंयुँ गाउँपालिका–७, बिहादी गाउँपालिकाको वडा नं १ र ४, कुश्मा नगरपालिकाको वडा नं २, ३, ८, १३ र १४ तथा मोदी गाउँपालिकाको वडा नं १, २ र ३ तथा जलजला गाउँपालिकाको वडा नंं २ गरी दश स्थानमा पदमार्ग बनाइएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जनाएको छ ।

Loading...