डा. भगवानलाई त्रिविको उपकुलपति बन्न प्रम ओलीको प्रस्ताव, सुध्रिएला त त्रिवि

काठमाडौं, ९ भदौ । बरिष्ठ चिकित्सक डा. भगवान कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न प्रस्ताव गरिएको थाहा भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपकुलपतिका लागि आग्रह गरेका हुन् । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बरिष्ठ मुटुरोग विशेषज्ञका रुपमा काम गरिरहेका कोइराला एक उदाहरणीय चिकित्सक मानिन्छन ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन । त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।

सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा सदस्य छन् ।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भएको भन्दै यसअघि प्रतिपक्षी दल नेपाली कांग्रेससहित थुप्रै अन्य संघसंस्था तथा व्यक्तिहरुले विरोध जनाएका थिए । विश्वविद्यालयहरु राजनीतिक नियुक्तिका कारण भ्रष्ट हुने गरेको र पढाइको गुणस्तर खस्किएको टिप्पणी भइरहेको छ । साथै यसबाट देशलाई चाहिने जनशक्ति उत्पादन हुने भन्दा अराजकता बढ्ने गरेको पनि टिप्पणी भइरहेको छ । यही बीचमा एक स्वच्छ छवि बनाएका र कुनै राजनीतिक दवाव नचाहने डा. कोइरालालाई प्रस्ताव गरिनुलाई सकारात्मक मानिएको छ । तर, उनले यो प्रस्ताव स्वीकार गर्छन या गर्दैनन वा यस्तै परिवेशमा उनी नै गए पनि देशको पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालयको अवस्था सुध्रिन्छ सुध्रिदैन भन्ने चासो सबैले देखाएका छन् ।

प्रयाप्त स्रोत साधन र संरचना हुँदा हुँदै पनि त्रिविको अवस्था दिनप्रतिदिन खस्कदो छ । देशको प्रतिष्ठाको रुपमा रहेको यस्ता ससंरचना दिनप्रतिदिन खस्कदा पनि राजनीतिक तहमा भने त्यसप्रति गम्भीरता आन नसकेको पनि धेरैले गुनासो गर्ने गरेका छन् । डा. भगवान जस्तै कोही व्यक्ति गएर त्यही रसातलमा डुब्छन वा त्रिविको प्रतिष्ठा बढाएर देशकै शिर ठाडो पार्ने संस्था बनाउँछन भन्ने प्रश्न पनि सँगै झुन्डिरहेको छ ।

Loading...