तलबको निहुँमा शिक्षक टाप कसेपछि पियनले पढाउँदै

सल्यान । तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि कार्यालय सहयोगीले विद्यार्थी पढाउन बाध्य भएका छन् ।

वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित अर्का एक शिक्षकले तलब नपाएको भन्दै पढाउन छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी हुन् । विसं २०६६ मा स्थापित उक्त विद्यालयमा दरबन्दी नहुँदा पनि उनीहरुले निजी स्रोतमा पढाउँदै आएका थिए ।

एक वर्षसम्म निरन्तर विद्यालयमा पढाए पनि आफूले तलब नपाएपछि पढाउन छाडेको शिक्षक बुढाले बताए । ‘विगत एक वर्षसम्म उधारोमा पढाए विद्यालयमा पैसा आउने स्रोत नै नभएपछि अझ उधारोमा काम गर्न नसकेर पढाउन छोडेँ ‘- बुढाले भने ।

विद्यालयमा शिक्षक नआएपछि विद्यार्थीहरुको बिचल्ली हुन थालेपछि आफूले नै पढाउन थालेको कार्यालय सहयोगी परियारले जानकारी दिइन् । ‘निजी स्रोतमा रहेका दुई शिक्षकले विद्यालय आउन छोडेपछि विद्यालय बन्द हुँदा विद्यार्थीहरुलाई समस्या हुने भएकाले मैले पढाउन थालेको हूँ’- उनले भनिन् ।

आफूले पनि तलब नपाएको जानकारी दिँदै कार्यालय सहयोगी परियारले भनिन्, ‘विद्यालयमा चाहिने सबै शैक्षिक सामग्री आफैले किनेर ल्याउँछु, मेरो चिन्ता बालबालिकाको भविष्य नबिग्रियोस् भन्ने हो ।’

विद्यालयमा कुनै स्रोत नभएपछि तलब दिन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बुढाले बताए । ‘विद्यालयको आफ्नो स्रोत छैन, विद्यार्थीबाट शुल्क उठाउन नपाइने र समुदायले पनि नदिने भएकाले विद्यालय सञ्चालन गर्न गाह्रो भइरहेको छ’, अध्यक्ष बुढाले भने ।

विद्यालयको समस्याका बारेमा नगरपालिकामा पटक पटक कुरा राखे पनि सुनुवाइ नभएको उनको गुनासो थियो ।

‘नगरपालिकाबाट शिक्षामा छुट्याइएको करोडौँ रकम फ्रिज भएर जान्छ तर नगरपालिकाभित्रका विद्यालयको अवस्था दर्दनाक छ, हाम्रो कुराको सुनुवाइ हुँदैन’, उनले भने ।

शिशुदेखि कक्षा तीन सम्म २६ विद्यार्थीले अध्ययन गरिरहेका सो विद्यालयमा निजी स्रोतबाट तलब सुविधा दिनेगरी दुई शिक्षक र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो ।

Loading...