एजेन्सी । बङ्लादेशमा शरणार्थीका रूपमा बसेका रोहिङ्ग्याहरूलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ ।
विभिन्न पाँच बस र दश ट्रकमा झण्डै तीन हजार ५०० शरणार्थीहरूलाई बिहीबार स्वदेश फर्काउने योजना बङ्लादेशमा बनाइएको थियो ।
मुस्लीम समुदायको बाहुल्यतासहित झण्डै सात लाख ४० हजार म्यानमारका रोहिङ्ग्या समुदायका बासिन्दा सन् २०१७ देखि बङ्लादेशमा शरणार्थी बन्न बाध्य छन् ।
उनीहरूलाई स्वदेश फर्काउन बङ्लादेशले पटकपटक प्रयास गरे पनि सुरक्षाको सुनिश्चितता नभएको भन्दै उनीहरूले स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् ।
आफुहरूलाई म्यानमारको नागरिकता दिनुपर्ने सुनिश्चितताको सर्त पनि उनीहरूले राखेको समाचारमा जनाइएको छ ।
“म्यानमार सरकारले हामीलाई लुट्ने छ, हामीलाई मार्ने छ, त्यसैले हामीलाई सुरक्षाको सुनिश्चितता नहुँदासम्म स्वदेश फर्किन सक्दैनौँ, हामी जाँदैनौँ,” रोहिङ्ग्या शरणार्थीका नेता नोसिमाले भने ।
अर्का एक शरणार्थी मोहम्मद इस्लामले थपे, “हामीलाई सुरक्षा र नागरिकताको सुनिश्चितता गरिनुप¥यो, हामीलाई हाम्रो वास्तविक जग्गाजमिन दिने प्रतिबद्धता आउनु प¥यो ।”
यसबारेमा आफुहरू स्वदेश फर्कनु अगाडि म्यानमार सरकारसँग कुरा गर्न चाहेको पनि उनीहरूले बताएका छन् ।
अहिलेको चरणमा ३४ हजार शरणार्थीलाई स्वदेश फर्काउन भन्दै स्थानीय समयअनुसार बिहान ९ बजे तेक्नाफ शिविरमा सवारी साधनहरू ल्याइएको थियो ।
तर छ घण्टासम्म पनि सवारी साधनमा बस्न कोही तयार नभएर सवारी साधन खाली नै रहेको थियो भने उनीहरू शुक्रबार फर्किने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।
“हामीले २९५ परिवारसँग अन्तरवार्ता गरिसकेका छौँ, अहिलेसम्म कसैले पनि स्वदेश फर्किने इच्छा देखाएका छैनन्,” बङ्लादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले पत्रकारहरूसँग भने ।
उनले शरणार्थीहरूसँग सरकारी अधिकारीहरूले अन्तरवार्ता गर्ने कार्यलाई निरन्तरता दिने जानकारी पनि दिए ।