शिक्षक लाइसेन्सका बारे सर्वोच्चमा दायर मुद्दा मंगलबार सुनुवाई हुँदै

काठमाडौं, ४ भदौ । लाइसेन्स परीक्षाका सम्बन्धमा सर्वोच्च अदालतमा परेको शिक्षक सेवा आयोग विरुद्धको मुद्दाको सुनुवाई मंगलबार हुने भएको छ । आयोगका विरुद्ध साविकको उच्च माध्यमिक विद्यालयमा कार्यरत ६ जना शिक्षकहरुले मुद्दा दायर गरेका थिए ।

माध्यमिक विद्यालय शिक्षक यूनियनका अध्यक्ष पुष्पप्रसाद न्यौपाने सहित ६ जना शिक्षकहरुले गत साउन २७ गते सर्वोच्च अदालतमा एक मुद्दा दायर गरेका थिए । उनीहरुले शिक्षक सेवा आयोगले खोलेको लाईसेन्सको परीक्षामा उल्लेख विज्ञापन नम्बर ३५ ले आफूहरुलाई समेट्न नसक्ने दावी गरेका थिए ।

सोही मुद्दामा सर्वोच्च अदालतले भदौ १० गतेका लागि सुनुवाई तोकेको छ । मुद्दा दायर गर्ने शिक्षक पुष्प न्यौपानले उक्त विज्ञापन खारेज गर्नुपर्ने बताएका छन् । उनले आफूहरुले दायर गरेको मुद्दामा आयोगले खोलेको उक्त विज्ञापन खारेज गरी विषयगत रुपमा लाईसेन्सको परीक्षा गर्नु पर्ने माग गरेको जानकारी दिएका छन् ।

शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाएको छ । कक्षा १० मा पढाई हुने र ११ र १२ मा पढाई हुने विषयहरु मिल्दैन । शिक्षक सेवा आयोगले भने कक्षा ११ र १२ लाई पनि यसअघिको कक्षा १० कै रुपमा हेरेको न्यौपानेको दावी छ । आयोगको त्यही सोचाईले यस्तो समस्या आएको उनको भनाई छ । शिक्षक न्यौपानेका अनुसार कक्षा ११ र १२ मा करिव १ सय ६० विषय पढाई हुन्छन ।

विगतको कक्षा १० सम्मको माध्यमिक तह र शिक्षा ऐनको आठौं संशोधनपछिको माध्यमिक तहमा देखिएका समस्याको समाधान नगर्दै आयोग पुरानै तरिकाले अघि बढेको शिक्षकको भनाई छ । शिक्षकहरुले पहिला यसको समाधान गर्नुपर्ने र सोही वमोजिमको शिक्षकहरुको नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने शिक्षकको माग छ ।

यसअघि शिक्षक सेवा आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको थियो । साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान आदि विषय उल्लेख गरी आयोगले विज्ञापन गरेको थियो ।

लामो समय रोकिएको लाईसेन्सको परीक्षा सञ्चालन गर्ने गरी आयोगले गत असार २ गते विज्ञापन खालेको थियो । उक्त परीक्षा असोज ९ देखि ११ सम्म सञ्चालन गर्ने आयोगले तय गरेको छ । त्यो विज्ञापनले आफूहरुले पढाउँदै आएको विषयलाई समेट्न नसक्ने शिक्षकको तर्क छ ।

Loading...