बाँके, २ भदौ। राप्तीपारिका धेरै गाउँका मानिस अहिले पनि डुङ्गाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् । राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेपछि त्यही भङ्गालो वारपार गर्न राप्तीपारिका आधा दर्जन गाउँका स्थानीयवासीलाई दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको डुङ्गा सञ्चालक जगत पालले बताए।
उहाँका अनुसार खल्ला झगडिया गाउँभन्दा २०० मिटर पर नदी किनारमा वारपारिका लागि डुङ्गालाई तयारी अवस्था राख्ने गरिन्छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवा लगायतका आधा दर्जन गाउँका स्थानीय आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा चढेर जानुपर्ने बाध्यता रहेको पालले बताए।
भारतीयसँग भाडामा ल्याइएको ठूलो डुङ्गा सावित मौर्यले ठेक्कामा चलाइरहेका छन । डुङ्गाको मासिक भाडा आठ हजार भारतीय रुपैयाँ रहेको छ भने डुङ्गा चालकलाई मासिक रु १० हजार दिने गरिएको छ । स्थानीयवासीले डुङ्गा चढ्नैपर्ने बाध्यता भएकै कारण महङ्गो भाडा तिरेर डुङ्गा चलाउनुपरेको मौर्यको भनाइ छ । तर घाटा भने नरहेको उनले बताए ।
डुङ्गामा एक जनाको एकतर्फी भाडा रु १० तोकिएको छ । दैनिक करीब रु ६०० सम्म आम्दानी हुने गरेको सञ्चालकको भनाइ छ । तर शुक्रबार राम्रो कमाई हुने गरेको छ । सीमावर्ती भारतीय गाउँ जानकीमा हाट बजार लाग्ने र हाट बजारमा राप्तीपारिका होलिया, बेतहनी र फत्तेपुरका धेरै मानिस जाने भएकाले रु चार हजारसम्म कमाई हुने गरेको सञ्चालक पालको भनाइ छ ।
“शुक्रबार डुङ्गा चलाउन भ्याइनभ्याइ हुने गरेको छ”, उनले भने “भारतमा लाग्ने हाट बजारमा जानेका कारण शुक्रबार साह्रै भीड हुन्छ । शुक्रबारकै कमाइले डुङ्गा चलाएर खर्च धानिएको छ ।” सिधनियाघाटमा पुल बने पनि तटीय क्षेत्रका धेरै गाउँका मानिस अहिले पनि डुङ्गाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् ।