काठमाडौँ । चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको निसर्त रिहाईको माग राख्दै उनका समर्थकहरुले चितवनमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन् ।
मृतक पत्रकार शालिकराम पुडासैनीले भिडियोमै आफू डिप्रेसनको शिकार भएको उल्लेख गरेका छन् । मृत्युसम्म आइपुग्दा र यी विभिन्न क्रियाकलापबाट उनी झनै समस्यामा परेको देखिन्छ । यस्तो डिप्रेसनमा परेको मान्छेले भिडियोमा कसैमाथि आरोप लगाउँदैमा वा नाम जोड्दैमा नागरिकको आवाज बोल्ने पत्रकार रवि लामिछाने जस्तो व्यक्तिलाई पक्राउ गर्न नहुने उनका समर्थकको भनाइ छ ।
पत्रकार लामिछानेले आफ्नो पहिलो स्टाटसमै शालिकराम ठूलो भ्रममा रहेछन् भन्ने उल्लेख गरेका छन् । शालिक आफैले पनि रवि लामिछानेलाई प्रत्यक्ष जोडेका छैनन । उनले संरक्षण गरेको भन्ने भाव मात्र देखिन्छ । युवराज कँडेल र अन्य व्यक्तिले सिधाकुरा जनतासँग कार्यक्रममा काम गर्न दवाव दिएको भन्ने उनको भिडियोको भाव छ । साथै अरुहरुकै बाध्यता वा दवावले काम गर्न पुगेको उनले प्रष्ट पारेका छन् । रविले काममा मात्र लगाउने गरेको भन्ने छ । यस्तो अवस्थामा कोही कसैले शालिकरामलाई पूरै भ्रमित पारेर रविमाथि केही त्यस्ता आरोप लगाउने स्थिति बनायो कि भन्ने आशंका समर्थकले गरेका छन् ।
रविले शक्ति सम्पन्नहरुले गरेका कमजोरीमाथि निरन्तर प्रहार गर्दै आएका छन् । उनले सबैतिर प्रहार गरिरहेका कारण उनीबाट रुष्ट बनेका वा त्रसित बनेकाहरु यही मौका उठाएर रविलाई तह लगाउन चाहन्छन् ।