महिला हराउने क्रम बढ्यो, कहाँ जान्छन् हराउने महिला र ?

पाल्पा – ३० साउन् । पछिल्लो समय जिल्लामा हराउने महिलाको संख्या बढेको छ । अधिकांश हराउने महिला मध्ये वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमती रहेका छन् । गत आर्थिक वर्षमा १ सय २० जना महिला हराएको उजुरी जिल्ला प्रहरी कार्यालय पाल्पामा परेको थियो ।

चालु आर्थिक वर्षको साउन महिनाको १५ दिन बित्न नपाउँदै ८ जना महिला हराएको उजुरी परिसकेको छ । हराउनेमा अधिकांश विवाहित महिला रहेका छन् । हराउने महिलाहरू ३० वर्ष देखि ५० वर्ष उमेर समुहका छन् । हराएका महिला खोजीदिन भन्दै श्रीमान् तथा घरका सासू–ससुरा उजुरी दिन आउने गरेको प्रहरीको भनाइ छ । यस्तै २७ जना बालिका र ७ जना बालकसमेत हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक फाँटका प्रहरी जवान वविता थापाले बताईन् ।

उनले करिब १ सय जना महिला सम्पर्कमा आएको बताईन् । आफन्तले खोजी गरी पाऊँ भनी उजुरी दिएपछि उनीहरू सम्पर्कमा आउँछन् । सम्पर्कमा आएका महिलाहरूले पहिलेको श्रीमानलाई छोडेर अर्कै पुरुषसँग विवाह गरिसकेका हुने थापाले बताईन्। जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका महिला पनि माइती पक्षको जिम्मेवारीमा जाने गरेको र पछि अर्कै पुरुषसँग विवाह गरिसकेका छन्, उनले भनिन।

उनका अनुसार १/२ जना महिला मात्र आफ्नै श्रीमानसँग मिलेर बसेका छन् । ‘श्रीमानले विदेशबाट कमाएर पठाइदिएको पैसा श्रीमतीले अर्कै पुरुषलाई दिने र त्यो पैसा फिर्ता हुने अवस्था नभएपछि उसैसँग विवाह गरेको पाइएको छ’ उनले भनिन् । श्रीमान् विदेशबाट घरमा आउने समय भएको थाहा भएपछि श्रीमती अर्कैसँग विवाह गरेर जाने गरेको उनको भनाइ छ । पाल्पामा बालिका पनि विवाह गरेर भाग्ने गरेका छन् ।

भागेर विवाह गरेका १५र१६ वर्षका बालिका उजुरी परेपछि आफ्नै बाबाआमासँग घरमा गएका छन् । तर १७ वर्षदेखि माथिका विवाह गरेका बालिका अहिले पनि लुकेर नै बसेका छन् । उनीहरू फोनबाट सम्पर्कमा आउने तर आफन्तको नजिक आउँदैनन् । यता बालक भने पैसा कमाउन भन्दै काम गर्न ठूला शहरमा गएको भेटिएका छन् ।

यद्यपि गत वर्ष हराएका सबै बालक फेला परिसकेका छन् । बालबालिका साथीको बहकाबमा लागेर आफन्तभन्दा टाढा जाने तथा विवाह गर्ने गरेको प्रहरीको भनाइ छ। वैदेशिक रोजगारले बिग्रियो धेरै पुरुषको घरबार अधिकांश विदेशमा रहेका पुरुषको घरबार बिग्रिएको छ । श्रीमान् विदेश हुँदा घरमा श्रीमती अरूसँगै मिलेर विवाह गरेको घट्ना बढी रहेका छन् ।

प्रहरीका अनुसार प्रायः बच्चा भएका आमाहरू यसरी अर्कै पुरुषसँग विवाह गरेको पाइएको छ । उनीहरू फेसबुक र मोबाइल फोनबाट अर्कै पुरुषसँग सम्पर्कमा आउने गरेका छन् । ‘एक आपसमा नजिकिदै गरेपछि कारोबारसमेत गर्छन र अन्ततः उनीहरू श्रीमान् श्रीमतीको सम्बन्धमा बाँधिएका छन्’ प्रहरी स्रोत भन्छ ।

लामो समयसम्म श्रीमानश्रीमती एकआपसमा टाढा बस्नुपर्ने बाध्यताले यो अवस्था आएको अधिवक्ता तथा महिला अधिकारकर्मी गीता शर्माको ठम्याइ छ । नैतिकता भुलेर आफ्नो मात्र इच्छा चाहना पूरा गर्ने सोचको विकासले यस्तो विकृति आएको हो, उनले भनिन काममा व्यस्त छैनन्, घरपरिवारले समेत राम्रो वातावरण दिन सकिरहेका छैनन्।

शंका र अविश्वास पनि यसको कारक हो । कतिपय बनावटी उजुरी दिने पुरुषको संख्या पनि बढेको छ । कुनै कारणले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न मन लाग्यो भने श्रीमती हराएको उजुरी दिने पुरुषको संख्या बढेको छ । श्रीमानश्रीमतीबीच मनमुटाब भयो भने सम्बन्ध विच्छेदको लागि सजिलो पार्न हराएको उजुरी दिने र अर्को दिन सम्पर्कमा आएको भन्दै सम्बन्ध विच्छेद माग्ने गरेका पनि छन् ।

Loading...