सगरमाथा राष्ट्रिय निकुञ्जमा उठ्यो १६ करोड राजश्व

सोलुखुम्बु, १७ साउन । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷७६ मा १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट ३३ लाख २३ हजार २२१ र आन्तरिक पर्यटकबाट ७२ हजार २३० राजस्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी रविन चौधरीले जानकारी दिए ।

त्यस्तै, गाइडबाट ३१ लाख ८१ हजार ८४९, हेलिकप्टर अवतरण गरेबापत एक करोड १३ लाख ७१ हजार ६४४, विदेशी टोलीको क्याम्पियनबाट आठ लाख ८२ हजार ७४१ सङ्कलन भएको सूचना अधिकारी चौधरीको भनाइ छ ।

सहासिक पर्यटकीय गतिविधिबाट दुई लाख ८५ हजार ८७४ सङ्कलन भएको छ । यस्तै कार्यालयले छ लाख ६० हजार बेरुजु असुल गरेको छ भने निकुञ्जको नियमविपरीत कार्य गरेबापत दण्ड जरिवानाबाट १ लाख ७१ हजार ६९४, काठ निकासी गरेबापत एक लाख ९८ हजार ६७५ राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिए ।

निकुञ्जले विदेशीबाट प्रतिपर्यटक तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट १ हजार ५० शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेबापत तीन हजार अवतरण शुल्क लिने गरिएको सूचना अधिकारी चौधरीको भनाइ छ ।

Loading...