सगरमाथा सफाइमा गएको टोलीले भेट्यो तीन अलपत्र शव, १९५ शव अझै हराइरहेको दावी

काठमाडौँ, १५बैशाख । सगरमाथा सफाइमा पुगेको टोलीले तीनवटा अलपत्र शव फेला पारेको छ । संघीय सरकार र स्थानीय तहको पहलमा सगरमाथाको सरसफाईमा एक टोली पठाइएको छ । सोही टोलीले उक्त शव फेला पारेको हो ।

सगरमाथाको दोस्रो क्याम्प, चुचुरोनजिक साउथकोल र ल्होत्से हिमालको टुप्पोनजिक एक एक वटा शव भेटिएको बताइएको छ । नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङले ती शवबारे विस्तृत विवरण आइनसकेको बताए ।

गुरुङले हिमालमा फालिएका ग्यास सिलिन्डरलगायत फोहर संकलन गरिरहेको सफाइ टोलीले ती शव पनि आधारशिविर झार्न प्रयास गर्ने जानकारी दिए । विदेशी सञ्चारमाध्यमले हालसम्म आरोहण क्रममा मृत्यु भएकामध्ये १ सय ९५ जनाको शव त्यहीं रहेको दाबी गर्दै आएका छन् । यिनमा अधिकांश विदेशी आरोही छन् । केही हिमाल चढेर फर्केका तथा केही चढ्ने क्रममा मृत्यु भएकाहरू छन् ।

पर्यटन विभागले यसबारे आधिकारिक तथ्यांक नभएको जनाउँदै आएको छ । सफाइ अभियान टोलीले हालसम्म ३ हजार किलोग्राम फोहोर संकलन गरिसकेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले २ हजार किलोग्राम ओखलढुंगा र १ हजार किलोग्राम राजधानी ल्याइसकिएको जनायो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानअन्तर्गत १० टन फोहर संकलन गर्ने तयारी छ । वैशाख १ देखि थालिएको अभियानका लागि २ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ । ४५ दिने अभियानमा १२ जना शेर्पा खटाइएका छन् भने नेपाली सेनासहित नौवटा निकाय संलग्न छन् ।

Loading...