एकैरात एनसेलका तीन दर्जन बढी टावरमा विप्लवको आक्रमण

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले एनसेलका देशभरका टावरमाथि फेरि अाक्रमण गरेकाे छ । बुधवार राति मात्र देशभरका करिव १०० जति टावरमा अाक्रमण भएकाे थाहा भएकाे छ । 

राज्यलाई कर छलेकाे भन्दै विद्राेही नेकपाले एनसेलमाथि निरन्तर अाक्रमण गर्दै अाएकाे छ । साेही क्रममा बुधवार राति पनि देशभर एक दर्जन बढी जिल्लाका करिव एक सय टावरमा आगजनी र बिस्फोट गरेको हाे ।

केहिदिन अघि मात्रै नेकपाले कर नतिरे एनसेलबिरुद्ध कडा कारवाही गर्ने चेतावनी दिएको थियो । एनसेल टावरमा आगजनी र बिस्फोट हुदाँ कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

पश्चिमको कैलाली कंचनपुरसहित डोटी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा, बैतडी यता ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कास्की, कपिलवस्तु, रुपन्देही र झापाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ सानो धुपईस्थित टावरमा गएराति १२ बजेतिर आगजनी गरिएको छ । आगजनी भएको खबर पाएलगत्तै लुम्बिनी र सूर्यपुराबाट प्रहरी टोली घटनास्थल पुगेकाले थियो।

त्यस्तै कैलालीको लम्की, जानकीनगर र धनगढीमा गरी चारवटा टावर ध्वस्त गरिएका छन् भने डडेल्धुराकाे महाभात हगुल्टेलेककाे काफली टावर र गाेगनपानीमा रहेको सुदुरपश्चिमकाे मुख्य टावर समेत ध्वस्त पारिएको स्थानीयले बताएका छन ।

यता डाेेटीकाे शैली शिखरकाे कफलेखि टावर अछाममा बिजायक र तुर्माखाँदमा गरी दुईवटा टावर र बाजुराकाे बुढीगंगा बार्जुकाेटमा रहेको टावर ध्वस्त भएको छ । उता बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा र बैतडीको दाेगाडाकाे सित्तड र पुर्चाैडिकाे कुडिमा गरी दुईवटा टावर ध्वस्त भएका छन् ।

नेकपा सेती महाकाली ब्युरोले सात नम्बर प्रदेशमा मात्रै साउन १५ गते राति १५ वटा एनसेल टावरमाथि आफूहरुले कारवाही गरेको ब्युरो इन्चार्ज निर्माणले संचारकेन्द्रलाई जानकारी दिए ।

साथै करछलीबिरुद्ध नेकपाले चलाएको अभियानमा साथ दिन सबैलाई उनले आग्रह पनि गरेका छन् । ‘राज्यलाई अरबौं कर नतिर्ने तर जनतालाई चर्काे शुल्क असुली ठग्ने साम्राज्यवादी बहुराष्ट्रिय कम्पनी एनसेलमाथि नेपाल कम्युनिस्ट पार्टीले साउन १५ गते देश ब्यापी कार्वाही गरेको छ ।’ उनले भने- ‘तर नतिरे यो कारवाहीको सिलसिला जारी रहन्छ र थप शशक्त भएर जान्छ ।’

यसअघि नेकपाले गत फागुनमा ललितपुरस्थित एनसेल मुख्यालयमा शक्तिशाली बिस्फोट गराएको थियो । उक्त विस्फोटमा परि २ जनाले ज्यान गुमाएका थिए ।

Loading...