अभिभावकमा शैक्षिक जागरण बढ्दै

जाजरकोट, १५ साउन । ठूलीभेरी नगरपालिका–२ कुम्ली डोल्पाका दिलमाया वि क सधैँ घरको काममा व्यस्त रहने गरेकामा आजभोलि केही समय निकालेर विद्यालयमा आइ नियमित छलफल गरिरहेकि छन् । उनले आफ्ना छोराछोरीको पढाइ कस्तो छ र कुन विषयमा कमजोर छ भनी नियमित शिक्षकसँग छलफल, अन्तरक्रिया गरिरहन्छिन् । घर, आँगन र पानी पँधेरोमा मात्र दिन बिताउने यहाँका अधिकांश महिला दिलमायाको क्रियाशीलता देखेर आज दङ्ग मात्र छैनन्, सल्लाह, सुझावसमेत माग्न थालेका छन् । विद्यालयमा आफ्ना बालबालिकालाई पढाउने मात्र होइन, पढे, नपढेको प्रभावकारी अनुगमनसमेत दिलमाया गर्दै आएकि छन् ।

उनले घरबाट २० मिटर ढाटा रहेको मन्मा आधारभूत विद्यालय कुम्लीमा दैनिक आएर छलफलसमेत गरिरहेकि शिक्षक जयकृष्ण हमालले जानकारी दिए। उनि आएर छलफल गरेको देखेका अन्य अभिभावकसमेत आजभोलि विद्यालयमा आएर बालबालिकाको विषयमा बुझ्न थालेका छन् । अभिभावकमा चेतनाको विकाससमेत भएको उनीहरुको भनाइ छ । अनावश्यकरूपमा घुमेर खर्चिने समय अहिले बालबालिका पढाएर बित्ने गरेको अर्का अभिभावक दिनेश रोकायले बताए ।

विद्यालयमा आएर छलफल गर्दा शिक्षक र अभिभावकबीच सम्बन्धसमेत राम्रो हुने गरेको रोकायको भनाइ छ । विद्यालयमा नियमित अभिभावक आएर ‘केयर’ गर्दा शिक्षकसमेत विद्यालयमा नियमित र समयमा पुग्ने गरेका छन् । डोल्पाको दिगो तथा न्यायोचित विकास प्रतिष्ठान सेडा नेपालले साविकका ३२ वटा गाविसमा युएसएआइडी, आरटिआइको आर्थिक सहयोगमा कार्यक्रम गर्दै आएको छ ।

प्रारम्भिक चरणका बालबालिकाको शिक्षामा सुधार ल्याई उनीहरुको सर्वाङ्गिण विकास गर्ने लक्ष्यका साथ डोल्लाका कक्षा १ देखि ३ सम्मका करीब १०९ विद्यालयमा १९ महीने कार्यक्रम शुरु भई काम भइरहेको कार्यक्रम संयोजक योगेन्द्र बुढाले बताए । कार्यक्रम लागू भएदेखि अहिलेसम्म जिल्लाका आठ स्थानीय तहका विद्यालयमा अन्तरक्रिया, अभिभावक भेला र संयुक्त छलफल गरी खेलबाट पढाइलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने ज्ञानसमेत दिइएको छ ।

विद्यालयमा मुखसम्म नदेखाउने र बालबालिकासमेत विद्यालयमा नपढाउने अभिभावक अहिले विद्यालयमा छोराछोरी ल्याएर विद्यालयमा छोड्ने र बेलुका लिन आउनेसम्मको वातावरण तयार भएको बुढाको भनाइ छ । कार्यक्रमको प्रभावकारिता निकै बढेको अर्का अनुगमनकर्ता शेरबहादुर खत्रीले बताए। अहिले डोल्पाका सबै घरमा विद्यार्थी पढाउनका लागि पढाइ कुना निर्माण गरिएको छ ।

खाना पकाउने कोठामा सीमित आकारको स्थानमा पढाइ कुना बनाएर दैनिक खाना पकाउने समयमा अभिभावकले छोराछोरी पढाउने गरेको अर्का कुम्लीका स्थानीय डम्बर रोकायले बताए। त्यस्तै यो कार्यक्रममा ठाउँ–ठाउँमा पढाइको लागि मेला आयोजनासमेत हुने गरेको छ । अभिभावक विद्यार्थी र जनप्रतिनिधिसँगै राखेर पढाइ मेला हुँदै आएको छ । पढाइ मेला भएपछि फोक्सुण्डो आधारभूत विद्यालय खदाङमा आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर बुझ्न सजिलो भएको अभिभावक तिले बुढाले बताए । विद्यालय परिसरमा शैक्षिक सामग्रीको प्रयोग र प्रभावका विषयमा समेत दिनहुँ छलफल हुँदै आएको छ ।

कक्षा १, २ र ३ का बालबालिकाका लागि छुट्टाछुट्टै राखिएको कक्षा स्टलमा बालबालिकालाई एक÷एक गरेर निश्चित समय दिएर पढ्न, भन्न र लेख्न लगाएर पढाइ मेलामा छलफल गरिँदै आएको छ । आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर बुझ्न पहिलो पटक पढाइ मेलामा सहभागी भएका अभिभावक जङ्गबहादुर रोकायाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गतको पढाइ कुना मेलाले पढाइमा सुधार ल्याएको बताए ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले विगतमा कृषिलाई प्राथमिकता दिएर स्याउ, ओखर र अङ्गुर खेतीलाई बजेट विनियोजन गरेकोमा अब नगरको पहिलो प्राथमिकतता शिक्षालाई दिएर बजेट विनियोजन गरिने बताए।

Loading...