वर्षात्ले घर भत्किँदा पालमुनि बास

डोटी, १५ साउन । लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयवासीको घर भत्किएको छ । प्रहरी चौकी डौडले दिएको जानकारीअनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो ।

वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले बिचल्लीमा परेको छ । घर भत्किएपछि उनको नौ जनाको परिवार पाल टाँगेर बस्न बाध्य भएको छ । साउन महीनाको झरीमा घर भत्किएका पार्कीलाई कुनै पनि निकायबाट अहिलेसम्म कुनै राहत उपलब्ध नभएको स्थानीयवासी बताउँछन् ।

घर भत्किँदा करीब रु तीन लाखको धनमालको क्षति भएको दिलबहादुरका भाइ बाले पार्कीले बताए। उनले भने, “बाहिर लगातार झरी परिरहेको छ, घर भत्कियो कहाँ गएर बस्ने बिचल्लीमा छौँ ।” घर भत्किएसँगै उनको एक पशुसमेत घरभित्रै परी मरेको छ ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले घर भत्किएर बिचल्ली भएको विषयमा लिखितरूपमा निवेदन नआएको बताउनुभयो । उनले भने, “घर भत्किएको विषयमा लिखित निवेदन आए हामी जिल्ला प्रशासनबाट प्रदान हुने राहत तत्कालै प्रदान गर्नेछौँ ।” डोटीमा करीब चार दिनदेखि लगातार वर्षा भइरहेको छ ।

Loading...