सकिएको छैन आस ! अझै टि-२० बिश्वकपमा पुग्न सक्छ नेपाल तर कसरी ? हेर्नुस

काठमाडौं । आईसीसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भयो। नेपाल सिंगापुरसँग ८३ रनको फराकिलो अन्तरले पराजित हुँदा नेट रनरेटमा कतारभन्दा पछि पर्दै तालिकाको तेश्रो स्थानमा झर्न पुगेको छ।

नेपाललाई हराएको सिंगापुरले यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा सहभागिता जनाउने पक्का भएको छ। १४ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकप टि–२० क्रिकेट प्रतियोगिताका लागि छानिनेछन्। तर, ग्लोबल क्वालिफायरका लागि सहभागी बन्ने १४ टोली मध्येको एक जिम्बाबे आइसिसीको निलम्बनमा छ।

निलम्बनपछि जिम्बाबेले आइसिसीले आयोजना गरेको प्रतियोगितामा समेत सहभागिता जनाउन नपाउने भएको छ। यसको मतलब अक्टोबरमा आयोजना हुने पुरुष टि–२० विश्वकप छनोटसमेत जिम्बाबेले गुमाउन सक्नेछ। नेपाल पनि आइसिसीको निलम्बनमा छ। तर, नेपाललाई आइसिसीले निलम्बन गरे पनि आइसिसीले आयोजना गर्ने र अन्य प्रतियोगितामा सहभागिता खुला गरेको छ। यस्तै खेलाडीलाई तलबसमेत आइसिसीले प्रदान गर्दै आएको छ। तर, जिम्बाबेलाई भने नेपालभन्दा अझ कडा सजाय दिएको हो। तुरुन्तै जिम्बाबे क्रिकेटको विवाद समाधान नभए जिम्बाबेले टि–२० विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन।

यदि जिम्बाबेले उक्त प्रतियोगिता खेल्न नपाए आइसिसीमाथी जिम्बाबेको स्थानमा कस्लाई खेलाउने? भन्ने दबाब पर्नेछ। प्रतियोगिताका लागि ३१ डिसेम्बर २०१८ मा आइसिसी टि–२० वरीयतामा ११ देखि १६ स्थानसम्म रहेका स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्डस्, हङकङ, ओमान र आयरल्याण्ड सोझै छानिएका छन्। नेपाल त्यसबेला वरीयतामा १७ औं स्थानमा रहेका कारण एसिया क्षेत्रीय छनोट खेल्न बाध्य भएको थियो।

युएई आयोजकको हैसियतले ग्लोबल क्वालिफायरमा सोझै छानियो। इस्ट एशिया प्यासिफिकबाट विजेता पापुवान्युगिनी, युरोपबाट विजेता जर्सी, अफ्रिकाबाट विजेता केन्या र उपविजेता नामिबीया ग्लोबल क्वालिफायरमा छानिएका छन्। एशिया क्षेत्रबाट पनि विजेता र उपविजेता नै छानिने व्यवस्था भए पनि युएई आयोजक बन्दै सोझै प्रतियोगिताका लागि छानिएकाले आइसिसीले एशियाको कोटा घटाएको हो।

प्रतियोगिताका लागि अमेरिकाबाट विजेता छानिन बाँकी छ। यस्तो अवस्थामा जिम्बाबेले ग्लोबल क्वालिफायर खेल्न नपाए आइसिसीसँग दुई विकल्प बाँकी रहन्छन्। क्षेत्रीय उपविजेतालाई ग्लोबल क्वालिफायरमा लैजाने वा वरीयताको पुछारमा रहेर सोझै छनोट नभएको नेपाललाई लैजाने। यो खबर थाह खबरमा छ ।

क्षेत्रीय उपविजेतालाई अघिल्लो चरणमा लैजान आइसिसीका लागि झन्जटिलो हुनेछ। इस्ट एशिया प्यासिफिकको उपविजेता फिलिपिन्स, युरोपबाट जर्मनी, एशियाबाट कतार र अमेरिका क्षेत्रमा बन्ने उपविजेता मध्ये एकलाई लान पर्ने हुँदा यो विवादित बन्न सक्नेछ। यस्तो अवस्थामा नेपाललाई अघिल्लो चरण प्रवेशको अर्को एक मौका जुर्न सक्छ। तर, यो सबै आइसिसीको आगामी निर्णयमा भर पर्नेछ। थाहखबरबाट साभार

Loading...