एकैसाथ चार न्यायाधीशमाथि भ्रष्टाचारको छानविन गर्न समिति गठन

काठमाडौँ, १३ साउन । न्यायपरिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका तीन न्यायाधीश र काठमाडौँ जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशमाथि छानविन गर्न समिति गठन गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि अध्ययन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको छ । क्षेत्राधिकार नै नभएको एक निजी कम्पनीको अन्तःशुल्क विवादमा तीन न्यायाधीशलाई काजमा परिषद्का झिकाउने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालामाथि छानविन गर्न परिषद्ले सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा समिति गठन गरेको छ । काठमाडौँ जिल्ला अदालतमा रहेका कोइरालाले ललितपुर जिल्ला अदालतमा हुँदा एक मुद्दामा गरेको निर्णय विवादमा परेको थियो ।

तीन मुख्य न्यायाधीशको सरुवा

न्यायपरिषद्को आज बसेको बैठकले तीन मुख्य न्यायाधीशलाई सरुवा गर्ने निर्णय गरेको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुँडाललाई उच्च अदालत सुर्खेत, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत तुलसीपुर र तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा गर्ने निणय भएको हो । बैठकले पाटन उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई सैनिक अदालतको अध्यक्ष तोक्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

Loading...