काठमाडाैं । न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी एकैपटक २ सय ३६ न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना न्यायाधीशको सरुवा गरेको हो ।
न्याय परिषदको बैठकले उच्च अदालतका ६ जना न्यायाधीशलाई विशेष अदालतको अध्यक्ष तथा सदस्य (न्यायाधीश) तोक्न पनि सिफारिस गरेको छ । परिषद बैठकले उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्ष तोक्न सिफारिस गरेको छ ।
यस्तै विशेष अदालतको सदस्य (न्यायाधीश)हरुमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलका न्यायाधीश वालेन्द्र रुपाखेती, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुर (अस्थायी इजलाश वीरगन्ज)का न्यायाधीश चन्द्रबहादुर सारु र उच्च अदालत विराटनगर (इलाम इजलाश)का न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्न सिफारिस गरेको छ ।