आजदेखि ‘एक्लो घर’ हलमा

काठमाडौं, २ साउन । प्रायः हरेक शुक्रबार राजधानीसहित देशभरका फिल्म हलमा नेपाली तथा विदेशी चलचित्रको तीव्र प्रतिस्पर्धा हुने नौलो विषय होइन तर यो शुक्रबारदेखि देशभरका हलमा एकमात्र नेपाली चलचित्र ‘एक्लो घर’ प्रदर्शनीमा आउने भएको छ । घर फिल्म देशका करीब १०० हलमा एक्लो प्रदर्शनी हुने वितरक करण श्रेष्ठले जानकारी दिए ।

एकै दिन धेरै फिल्मको प्रतिस्पर्धा हुँदा निर्माता, वितरक तथा कलाकारलाई समेत घाटा हुने भएकाले यो पटक सरोकार भएका निकायलाई आग्रह गरी एकमात्र फिल्म प्रदर्शनीको व्यवस्था गरिएको उनले उल्लेख गरे । “धेरैपछि एकमात्र ‘सिङ्गल मूभी’ प्रदर्शनी हुँदैछ, त्यसमा पनि विदेशी हिन्दी हैन नेपाली फिल्म । यो चलचित्र उद्योगकै लागि सकारात्मक विषय हो”, उनले भने ।

चलचित्रका लेखक तथा निर्देशक अर्पण थापाले काठमाडौँमा नयाँ घर खरीदपछि त्यहाँ भएको भूतको आतङ्कलाई चलचित्रको विषयवस्तुमा प्रस्तुत गरिएको बताए । काठमाडौँमा राम्रो र सस्तो घर पाएकाले खरीद गरिएको हुन्छ, त्यसपछि उक्त घरमा भूतको आतङ्क सिर्जना हुन्छ सोही विषयवस्तुमा रहेर फिल्मका पात्रलाई उतारिएको छ । घर ‘हरर मूभी’ हो ।

फिल्मले भूतप्रेतमा विश्वास गरिन्न तर यी वास्तविक जीवनमा पनि मेल खाने हुनाले यस्ता घटना संयोगान्त हुन भन्ने सन्देश प्रवाह गर्ने फिल्ममा नायकको समेत भूमिका निर्वाह गरेका थापाले सुनाए । चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाललगायत कलाकारको अभिनय रहेको छ । शर्मिला पाण्डेको लगानी रहेको चलचित्रको डिएस डिजिटलले निर्माण गरेको हो । चलचित्र वितरण रिच इन्टरटेनमेन्टले गरेको छ।

Loading...