चार विद्यार्थीसहित पाँच प्रदर्शनकारी प्रहरीको गोली लागेर मारिए

एजेन्सी । सोमबार भएको एक प्रदर्शनमा सहभागीमध्ये पाँच जनाको गोली लागेर मृत्यु भएको छ ।

सुडानमा मृत्यु भएकामध्ये चार जना विद्यार्थी रहेको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा अन्य कैयौँ घाइते भएका छन् । प्रदर्शनकारीहरूले सोमबार मध्य सुडानमा प्रदर्शन गरेका थिए ।

“अल—ओबेइडमा शान्तिपूर्ण प्रदर्शन भइरहेका बेला हामीमाथि गोली प्रहार भयो, गोली लागी पाँच जना शहीद भए, अरु धेरै घाइते भए,” प्रदर्शनकारीहरूको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।

गोली चलाउनु पर्ने स्पष्ट कारण अहिलेसम्म पुष्टि भएको छैन । प्रदर्शनकारीहरूको नेता र सरकारी पक्षबीच केही दिनदेखि वार्ता भइरहेका बेला यो घटना भएको हो ।

आन्दोलनकारी विभिन्न समूहहरूमध्ये केही समूहहरूसँग सरकारी पक्षले सम्झौता गरिसकेको छ भने कतिपय समूहहरूसँग वार्ता भइरहेको छ ।

उनीहरूबीचमा शक्ति बाँडफाँड गरेर वर्तमान शैन्य सरकारलाई नागरिक सरकारमा रूपान्तरण गर्ने छलफल र सहमति भएको हो ।

आन्दोलनकारीहरूमध्ये मुख्य समूहसँग सरकारी पक्षले यही जुलाई १७ तारिखका दिन सम्झौता गरेको हो ।

झण्डै तीन दशकदेखि शासन गर्दै आउनुभएका तत्कालीन राष्ट्रपति ओमर अल बसिरलाई पदच्यूत गरेर सेनाले शासन हातमा लिए पनि सुडानको राजनीति अझै सङ्कटबीच अघि बढेको छ ।

Loading...