एलर्जीको विरामी भएर अस्पताल पुगेका प्रतिपक्षी नेता उपचारपछि सिधै जेल

एजेन्सी । रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीलाई अनुहारमा ‘एलर्जी’ को समस्या देखिएपछि मस्कोबाहिरको एक अस्पतालमा उपचारपछि पुनः जेल चलान गरिएको छ ।

नाभाल्नीका निजी वकिल तथा चिकित्सकले भने उनलाई अज्ञात विषाक्त तत्व दिइएको सूचना उनले उपचार गरेको अस्पताल नम्बर ६४ बाट गोप्यरूपमा प्राप्त गरेको दाबी गरेका छन् ।

नाभाल्नीको स्वास्थ्य अवस्थामा समस्या रहेकै समय पुनः जेल चलान गरिएको उनका वकिल होल्गा मिखाइलोभले सञ्चारकर्मीसँग बताए ।

नाभाल्नीलाई मुखमा एलर्जीको समस्या आएको भनी आइतबार अस्पताल भर्ना गरिएको थियो । शनिबार नै नाभाल्नीका समर्थकले स्थानीय निर्वाचनलाई स्वच्छ तथा निष्पक्ष बनाउनुपर्ने भन्दै गरेको प्रदर्शनीमा करीब एक हजार ४०० प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

प्रतिपक्षी नेताका निजी चिकित्सक अनास्तासिया भाजिल्यभाले नेता नाभाल्नीको रोगको उपचार नहुँदै ‘माथिको आदेश’ भन्दै जेलमा फिर्ता पठाइएको दाबी गरे । उनले नाभाल्नीको शरीरमा कुनै ‘विषाक्त रासायनिक तत्व’ को प्रयोगका कारण एलर्जीको समस्या भएको आशङ्का व्यक्त गरे ।

नाभाल्नीले कानूनविपरीत प्रदर्शनको आयोजना गरेको भन्दै अघिल्लो साता नियन्त्रणमा लिई जेलमा राखिएको थियो ।

Loading...