एजेन्सी । अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूले असुरक्षित महसुस गरेका छन् ।
राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपतिका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरूले असुरक्षित महसुस गरेका हुन् ।
उपराष्ट्रपतिका उम्मेदवार अमरूल्लाह सालेहको कार्यालयमा भएको आतङ्ककारी हमलामा परी २० जनाको मृत्यु भएको र थुप्रै घाइते भएको घटनापछि उनीहरूले सुरक्षाको खतरा महसुस गरेका हुन् ।
आइतबार भएको आक्रमणमा मृत्यु भएका मध्ये अधिकांश सर्वसाधारण रहेका छन् भने अरु ५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
आक्रमणकारीहरूले आक्रमण गरेको स्थान अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता सालेहको कार्यालयमा आइतबार करीब ४ः४० बजे पारेर विस्फोट गराइएको अफगानी प्रहरीले जनाएको छ ।
सालेह उनले राजनीतिमा प्रवेश गर्नु पहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ ।
युद्धग्रस्त देश अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि घानीसहित कुल १८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
आइतबारदेखि शुरु भएको प्रचारप्रसार अभियान झण्डै दुई महिना चलेर सेप्टेम्बर २५ तारिखका दिन अन्त्य गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदान शुरु हुनुभन्दा ४८ घण्टा अगाडिसम्म मात्रै प्रचारप्रसार गर्न पाइने समयावधि तोकेको छ । अफगानिस्तानमा राष्ट्रपति चयनका लागि आउँदो सेप्टेम्बर २८ तारिखका दिन मतदान हुने तय भइसकेको छ ।