जाजरकोटमा बिरुवाबाट मनग्य आम्दानी

जाजरकोट, १२ साउन । कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गरेका छन् ।पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उनले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गरेका छन्।

नलगाड नगरपालिका–४, जोगनिडाँडाका अर्का युवा उद्यमी केशवबहादुर रावलले पनि यो वर्ष रु ३२ हजार बिरुवा बिक्री गरेर रु पाँच लाख आम्दानी गरेका छन्। ६ वर्षअघि उनले रावल फलफूल नर्सरी उद्योग सञ्चालन गरेर बिरुवा उत्पादन गर्दै आएका छन ।

मल्ल र रावल जस्तै जाजरकोट जिल्लाका २० जनाभन्दा बढी युवाहरु नर्सरीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । जिल्लामा चाहिने बिरुवा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता टार्न युवाहरुले गाउँमै नर्सरी सञ्चालन गरेर आवश्यक पर्ने बिरुवा आपूर्ति गर्दै आएको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताए ।

सामान्य लेखपढ गरेका मल्ल र रावल रोजगारीको खोजीमा धेरै पटक भारतको कालापहाड पुगे । कालापहाडको कमाईले घरव्यवहार चलाउन मुस्किल थियो, मल्लले भने, “रोजगारीको खोजीमा भौँतारिनुभन्दा आफैँले उद्यम सञ्चालन गर्ने सोचेर नर्सरीमा हात हाले अहिले राम्रै आम्दानी भइरहेको छ ।”

“गाउँमै पनि थोरै लगानीले राम्रो आम्दानी गर्न सकिन्छ”, ज्ञान केन्द्रका प्रमुख रोकायले भने, “नर्सरीबाट हुने आम्दानीले रोजगारीका लागि विदेश जानेलाई युवालाई प्रेरणा दिन्छ ।” “नर्सरी शुरुआत गर्दा ४० हजार लगानी गरेको थियो”, रावलले भने, “नर्सरीले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ । नर्सरीमा अहिले ओखर, कागती, सुन्तला, अनार, टिमुर, बकाइनो, काउँलो, चिउरी आदि बिरुवा छन् ।”

बिरुवाअनुसारको मूल्य कायम गरेको छ । रु १५ देखि एक सयसम्म बिरुवाको मूल्य पर्छ । गाउँमै नर्सरी भएकाले गाउँ तथा नगरवासीलाई बिरुवा किन्न सहज भएको छ ।