नेकपा केन्द्रीय सचिवालय बैठकले यस्ता महत्वपूर्ण निर्णय लिने

काठमाडौं १२ साउन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेताहरुको कार्य विभाजन टुंगो लगाउने बुझिएको छ । ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्ज र सहइञ्चार्जपछिका पदाधिकारीहरुका बारेमा छलफल गर्ने बताइएको छ ।

अहिले सर्वाधिक चर्चा र विवादमा रहेको स्कुल विभागसहित सबै विभागको प्रमुखका बारेमा बैठकमै छलफल गर्ने सहमति भएको एक नेताले बताए । स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी परेपछि नेकपाले जिल्ला इञ्चार्ज टुंगो लगाए पनि विभाग प्रमुखहरु टुंग्याउन सकेको छैन ।

स्कुल विभागको विवाद भने इगोका रुपमा बढेको र व्यक्तिगत तहमा आरोप प्रत्यारोप भएको भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले शनिबार पनि बीचको बाटो खोज्न छलफल गरेका थिए । विवाद बढिरहे तत्काल सो विभागको प्रमुख कसैलाई नबनाइ अध्यक्षहरुले नै राख्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

अध्यक्ष र महासचिवले कुनै विभाग नलिने समझदारी रहे पनि स्कुल विभागलाई विवादित बनाइएपछि यो विकल्पमा छलफल भएको हो । यद्यपि, आज बस्ने सचिवालय बैठकमा अन्य विकल्पमा समेत छलफल हुने एक नेताले बताए । सचिवालयकै सदस्यमध्ये झलनाथ खनालले सो विभाग आफूलाई दिए स्वीकार गर्ने बताइसकेका छन् ।

नेकपाले राजधानी विशेष प्रदेश कमिटी गठनका बारेमा पनि गृहकार्य गरेको छ । राजधानी काठमाडौंमा रहेका मजदुर,युवा विद्यार्थी, पेशागत जिल्ला कमिटीहरूलाई नेतृत्व गर्ने गरी विशेष प्रदेश कमिटी गठन हुने भएको छ । यसको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छैन ।