रत्ननगर, १२ साउन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस-सुन्तली फाउण्डेसनलाई ५१ लाख ५० हाजर सहयोग गरेका छन् ।
महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरिन । महानगरपालिकाका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट सो रकम सङ्कलन गरिएको थियो ।
उनले रङ्गशाला निर्माणका लागि जिल्लावासी जुरमुराएका छन् भन्दै यो रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पनि महोल सिर्जना गर्नुपर्नेमा जोड दिईन ।
सो रङ्गशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा पाँच करोड ४५ लाख विनियोजन गरिसकेको छ भने प्रदेश नं ३ बाट पनि पाँच करोड विनियोजन भएकाले अहिले डिपिआर निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । गत माघ १६ गते उक्त फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो ।