नेपालगञ्ज, १० साउन । नेपालगञ्जका अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारीको समयमा विद्यालय आउँदैनन् । विद्यालयमा महिलामैत्री शौचालय नहुनु र भएका शौचालयमा पनि प्याड फेर्न तथा सरसफाइका लागि पानीको अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । विद्यालय आउन नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा ४३ सामुदायिक विद्यालय छन् । नगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको सङ्ख्या करीव छ हजार रहेको छ । “महिनावारी भएका समयमा कपडा फेर्न तथा सेनेटरी प्याड प्रयोग गर्न मिल्ने सरसफाइयुक्त शौचालय नभएकाले बाध्य भएर विद्यालय नजाने गरेको हो”, नाम बताउन नचाहने युद्द विद्यालयका एक छात्राले भनिन् ।
महिनावारी हुँदा विद्यालयमै सेनेटरी प्याड प्रयोग गर्न सकिने शौचालय भएमा सहजता हुनुका साथै कपडा र प्याड फेर्न घर जानुपर्ने बाध्यता नहुने छात्राको भनाइ छ । “विद्यालयमा महिलामैत्री शौचालय निर्माण, सरसफाइको व्यवस्था र सेनेटरी प्याडको व्यवस्था भएपछि छात्राले महिनावारी हुँदा विद्यालय छाड्नै पर्दैन”, शिक्षिका मोहिनी योगीको भनाइ छ ।
विशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र महिलामैत्री शौचालय हुनु आवश्यक हुन्छ । विद्यालयमा छात्राका लागि कपडा र प्याड फेर्न मिल्नेसम्मको शौचालय तयार गरिदिए मात्र पनि धेरै छात्रालाई सजिलो हुने उनको सुझाव छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित केही सामुदायिक विद्यालयमा अहिले महिलामैत्री शौचालय निर्माण हँुदैछन् तर अझै थुप्रै विद्यालयमा महिलामैत्री शौचालय निर्माण हुन सकेको छै्रन । नेपालगञ्ज उपमहानगरले पञ्चवर्षीय परियोजनाअन्तर्गत नगरमा रहेका सामुदायिक विद्यालयमा महिलामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।