बेलको जुसतर्फ किसानको आकर्षण बढ्दै

तनहुँ, ९ साउन । वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको हो ।

बेलको जुस सेवनबाट ग्याष्ट्रिक, रक्तअल्पता, कब्जियतको समस्या समाधान हुने र पाचनशक्ति बढाउने, उच्चरक्तचाप, झाडापखलालगायतका विभिन्न रोगका लागि फाइदा हुने भएपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको उद्योग सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । यस वर्षका लागि करीब एक लाख मूल्य बराबरको सामुदायिक वन, सार्वजनिक र व्यक्तिगत जग्गामा रहेको बेल किनेर भण्डारण गरिएको उनले भने ।

उनका अनुसार विसं २०७२ मा त्यस क्षेत्रका सिद्धबतासना, उमाचोक, भीरपानी, डेन्टज्यान्ट, बरच्याङ र पोसिली गरी छ सामुदायिक वन उपभोक्ता समितिले शुरुमा रु चार लाख ६० हजार सङ्कलन गरी बेल जुस उद्योग स्थापना गरेका थिए । घरेलु उद्योगमा दर्ता तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट ल्याबटेष्ट गराई अनुमतिपत्र लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् ।

हरियो वन कार्यक्रमअन्तर्गत १५ लाख, डिभिजन वन कार्यालय तनहुँबाट पाँच लाख, घरेलु तथा साना उद्योग विकास समितिबाट ९५ हजारलगायतका गरी हालसम्म उद्योगमा करीब ३० लाख लगानी भइसकेको छ । हरियो वन कार्यक्रमअन्तर्गत उक्त जुस उद्योगलाई केयर नेपाल, डब्लुडब्लुएफ, डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिले गरेको आर्थिक सहयोगबाट जुस प्रशोधन मेसिनलगायतका आवश्यक सामग्री किनेर व्यवस्थितरूपमा उद्योग सञ्चालन गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

“शुरुमा उद्योग सञ्चालन गर्दा बेलको जुसको प्रचारप्रसार नहुँदा बिक्री कमी थियो”, अध्यक्ष श्रेष्ठले भने, “तर अहिले यसको महत्व बुझेपछि जिल्लाको दुलेगौडा, दमौली, आँबुखैरेनीलगायत पोखरा, बुटवल, काठमाडौँका बजारमा माग बढेको छ ।”

हालसम्म ७०० मिलीमिटरका १२ हजार बोतल बेलको जुस उत्पादन गरिसकेको सो उद्योगले जनाएको छ । प्रतिबोतल २०० मा बिक्री गर्ने गरिएको छ भने अहिले एक हजार ५०० बोतल जुस तयारी अवस्थामा उद्योगमा राखिएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवबहादुर रानाभाटले बताए । राम्रोसँग व्यवस्थापन गर्न सके बाह्रै महीना बेलको जुस उत्पादन गर्न सकिन्छ । उनले भने, “बेलको जुसको साथसाथै अदुवा, लप्सीलगायत स्थानीय फलफूलका जुस उत्पादन गर्ने योजनासमेत रहेको छ ।” जुसको म्याद उत्पादन मितिबाट डेढ वर्षसम्म रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको अध्यक्ष रानाभाटले बताए ।

वडामा सञ्चालित बेल जुस उद्योगको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेको म्याग्दे–२ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले बताए । सञ्चालक समितिले उत्पादन गरेको बेल जुसको प्रतिप्याकेट रु ३० का दरले र उद्योग चलाएवापत वार्षिक पाँच हजार उक्त छ सामुदायिक वनबाट बनेको व्यवस्थापन समितिलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ । सोही क्षेत्रमा पर्ने सिद्धबतासना सामुदायिक वनमा १६ हजार बेलका बिरुवा रोपिसकिएको छ भने अन्य सामुदायिक तथा निजी वनमा पनि बेलखेतीका लागि प्रोत्साहन गरिएको छ ।

Loading...