लमजुङमा मध्य दिउसो एकाएक भीषण बाढी आउँदा १६ जना बगे, २८ मजदुर सुरुङमै थुनिए

लमजुङ, ८ साउन । लमजुङको दोर्दी खोलामा भीषण बाढी आउँदा ठूलो धनजनको क्षति भएको छ । बुधवार दिउसो ४ बजेतिर आएको बाढीले निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु र जलविद्युतका सामानहरु बगाएको छ ।

बाढी आउँदा भागेर ज्यान जोगाएका मजदुर अमर बस्नेतले बज्रगुरु जलविद्युत आयोजनाको इनलेटमा रहेका १६ जना मजदुरलाई बाढीले बगाएको भाग्दै गर्दा ननस्टप खबरलाई जानकारी दिएका छन । बाढीमा बगेका अधिकांश मजदुरहरु राति ड्यूटी गरेर दिउसो सुतेका थिए भने कोही बासस्थानमा बसेका थिए । एकाएक बाढी आएपछि उनीहरु भाग्ने नपाएर बगेको बस्नेतले बताए ।

त्यसैगरी लमजुङको सबैभन्दा उच्च स्थानमा रहेको ५४ मेगावाटको जलविद्युत आयोजना सुपर दाेर्दीमा २८ जना मजदुरहरु सुरुङभित्रै थुनिएका छन् । एकाएक बाढीको पानी सुरुङभित्र पसेपछि उनीहरु भित्रै थुनिएका हुन् । अहिले उनीहरुको भित्र अवस्था के छ भन्ने पत्ता लगाउने काम भइरहेको छ ।

ननस्टपखबरसँग कुरा गर्ने मजदुर अमर बस्नेत भने दाेर्दी १ मा माउन्टेन इन्फ्रा हाइड्रो पावरमा काम गर्दै आएका छन् । उनले आफूले बालबाल भागेर ज्यान जोगाएको बताए । अहिले सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धारको प्रयास गरिरहेका छन् ।

बाढीले सोही खोलामा बन्दै गरेको लिबर्टी हाइड्रोका ठूला ठूला मेशिनहरु समेत बगाएको छ । निर्माणाधीन लिबर्टी हाइड्रोका निकै वजनदार मेशिनहरु बाहिरै राखिएका थिए । बाढीले खोलाबाट ३५ मिटरसम्म उचाइमा राखिएका सामानहरु समेत सबै बगाएको छ ।

Loading...