इमरान खानको खुलासा: पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए

वासिङ्टन, ७ साउन । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको खुलासा गरेका छन् ।

पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए ।

अमेरिकी गोप्य कारबाहीका कारण पाकिस्तान र अमेरिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ । पाकिस्तानले अमेरिकामाथि आफ्नो सार्वभौमसत्ता हनन गरेको आरोप लगाउँदै आएको छ ।

पाकिस्तानी चिकित्सक शकील अफ्रिदीले खोप अभियानका नाममा बिन लादेन रहेबसेको स्थान पत्ता लगाएका थिए । पाकिस्तानले तिनै चिकित्सक अफ्रिदीमाथि देशद्रोही कार्य गरेको भन्दै जेलमा राखेको छ ।

अमेरिकी सञ्चार माध्यम फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भने – शकिललाई छाड्ने भन्ने विषय निकै भावनात्मक छ, किनभने शकिललाई पाकिस्तानमा जासूसको रुपमा व्यवहार गरिन्छ । हामी पाकिस्तानमा अमेरिकालाई सहयोगी मुलुकको रुपमा लिन्छौं र यदि हामीले नै सूचना दिएको भए हामीले ओसामा बिन लादेनलाई त्यहीबेला अमेरिकाको जिम्मा लगाउनु पथ्र्यो ।

बिन लादेनका बारेमा पाकिस्तानी गुप्तचर निकायलाई जानकारी थियो त भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री खानले भने– गुप्तचर निकायले सूचना दिएकै हो र त्यही आधारमा ओसामा बिन लादेन रहेबसेको ठाउँ पत्ता लगाउन सहयोग पुगेको थियो । आइएसआईले नै फोन गरेर अमेरिकी गुप्तचर निकायलाई जानकारी गराएको हो ।

Loading...