अमेरिकामा लुकेर बसेका सबै नेपालीलाई तुरुन्त देश निकाला गर्ने तयारी

काठमाडौं । गलत बाटोबाट अमेरिका पुगेर शरणार्थी भइ लुकेका विदेशी नागरिकलाई अमेरिकाले धमाधम पक्राउ गरेर फर्काउन लागेको छ । यसैक्रममा अमेरिकाले फेरि गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न नयाँ नीति ल्याएको छ । यस नीतिले त्यहाँ गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरु समेत पर्नसक्ने बताइएको छ ।

अमेरिकामा ठूलो संख्यामा नेपालीहरु पनि शरणार्थी बनेर बसोवास गर्दै आएका छन् । नयाँ नीतिमा अमेरिकी सरकारले अदालतलाई समेत बाईपास गरेर आप्रवासीहरुलाई तुरुन्त घर फिर्ता पठाउन सक्ने व्यवस्था गरेको छ ।

अमेरिकी सरकारले ल्याएको नयाँ नीति मंगलबार मात्र सार्वजनिक भएको हो । साथै यो नीति तुरुन्त लागू हुनेछ । नयाँ नियमअनुसार आधिकारिता पुष्टि गर्न नसकेका दुई वर्षदेखि अमेरिकामा बस्दै आएका आप्रवासीलाई तुरुन्तै पक्राउ गरेर आफ्नो देश पठाइनेछ ।

आप्रवासीप्रति निक्कै अनुदार देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नीति नै बनाएर आप्रावासी हटाउने योजना बनाएको विश्लेषण गरिएको छ । २०२० मा हुने पुन निर्वाचन अभियानका रुपमा पनि यो नियमलाई हेरिएको छ ।

यो नीति लागू हुँदा अमेरिकामा गैर कानूनी रुपमा बसेका नेपाली पनि प्रभावित हुने भएका छन् ।

Loading...