पहिले प्यार अहिले मार : आन्दोलनरत अस्थायी शिक्षकहरुमाथि प्रहरीको लाठी चार्ज

जनकपुर । मौका परीक्षामा अनुत्तीर्ण भएको भन्दै सरकारले सुविधा लिएर बस्न ताकेता गरेपनि आन्दोलनको मैदान नछोडेका अस्थायी शिक्षकहरुमाथि लाठी चार्ज भएको छ ।

आफ्नो रोजीरोटी खोसिन नहुने माग राख्दै सरकारको सुविधा प्याकेज अस्वीकार गरेका अस्थायी शिक्षकहरु जनकपुरमा प्रहरीको निसानामा परेका हुन् । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि चक्काजाम गरेपछि उनीहरुमाथि लाठि चार्ज भएको हो ।

चक्काजाममा ओर्लेका अस्थायी शिक्षक र प्रहरीबीच झडप भएपछि प्रहरीले लाठि चार्ज गरि उनीहरुलाई तितरबितर गराएको बताइएको छ । त्यसक्रममा प्रहरीले मुकेश तिवारी, शशिकला भट्टराई, रेखा कापड, किरण यादव, सलिम अन्सारी लगायतका शिक्षक लाई नियनत्रणमा लिएको आन्दोलनरत एक शिक्षकले जानकारी गराएका छन् ।

असार १९ गतेदेखि आफ्नो पुनर्बहाली लगायत विभिन्न मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना बस्दै आएका उनीहरुको माग पूरा नभएपछि दबाब स्वरुप चक्काजाममा ओर्लेका उनीहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

संघीय सरकारले गलत नीति अख्तियार गरेको भन्दै उनीहरु प्रति सहानुभूती राख्ने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नै उनीहरुमाथि प्रहरी लगाएपछि अस्थायी शिक्षकहरु चिन्तित देखिन्छन । अस्थायी शिक्षकहरुको रोजगारी खोसेर संघीय सरकारले अन्याय गरेको राउतले बताउदै आएका थिए । अहिले उनकै निर्देशनमा लाठि बर्साइएको शिक्षकरुको आरोप छ ।

देशभरका हजारौ अस्थायी शिक्षकसंगै प्रदेश नम्बर २ का झण्डै १ हजार २ सय अस्थायी शिक्षकको रोजगारी खोसिएपछि उनीहरु आन्दोलित छन् । काठमाडौमा पनि अस्थायी शिक्षकहरुको आन्दोलन जारी छ । सरकारले आन्तरीक प्रतिस्पर्धाको मौका दिए पनि उतीर्ण हुन नसकेका अस्थायी शिक्षकहरु लामो समयदेखि सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

यो पनि हेर्नुस्

Loading...