जङ्ग मन अजङ्ग शरीर बनाएर
मुक्तिसेनाका लाल सिपाहीहरू
धौलागिरि हिमाल चढ्दा
रुप्से टक्क रोकिएको दिन
कालीगण्डकी सललल बगेको दिन
हो आमा
त्यही हो वेणी कब्जा गरेको दिन ।
जनताको महासागरसँग
लालसेना मानवबम बनेको दिन
कविको कलम बन्दुक बनेको दिन
कविता गोली बनेको दिन
काली र म्याग्दीको सङ्गम
रणभूमि बन्यो ऐतिहासिक
कखमा धौलागिरिको भीमकाय धक्का गएको दिन
त्यही हो आमा
वेणी कब्जा गरेको दिन ।
हिउँ फुलेको देशमा
यो खबर सुन्दा उफ्रेर सौराहमा ढोई नाच्यो होला
टिकरीमा तोरी गमक्क भयो होला
डाँफे नाच्यो होला, मुनाल हाँस्यो होला
हाम्रो चोमोलोङ्मा आकासभन्दा माथि पुगेको दिन
तिम्रो पनि आमा, मेरो पनि आमा
नेपाल आमाले आनन्दको लामो सास लिएको दिन
हो आमा त्यही हो
वेणी कब्जा गरेको दिन ।
सिस्ने र जलजलाले बिदाइ गरेर
पठाएका लाल मान्छेहरू
लेफ्ट–राइट ढोरपाटन काटेर
गरेर शङ्खनाद अर्को
लाली गुराँस र नागबेलीसँग
उत्तर–गङ्गाको कञ्चन पानीसँग
औँसीको त्यो कालरात्रि छिचोल्दै
एकले होस्टे, अर्काेले हैँसे गरेर
मनहरू हजार एक मन भएर
आँधी तूफान ओकलेको दिन
इन्क्लाबको आभा समातेर
जनसत्ताको रश्मी छरेको दिन
गण्डकीमा त्यो क्षण
बगेको हैन पानी आमा
रगत विजयको बगेको दिन
आमा, हो त्यही हो
वेणी कब्जा गरेको दिन ।
आकास गडगडाएको थियो
चट्याङ परेको थियो
सेना दुई र सत्ता दुईको
सन्तुलन रणनीतिक बनेको दिन
छरिए ब्रह्माण्डभरि
मानववस्ती छन् जहाँ
जनयुद्धका ज्वालाहरू
गाइए दुनियाँभरि
नेपाली क्रान्तिका गुणगानहरू
पायो कुमाखले लाखौँ शुभकामना
पहिराइए मालाहरू विजयका जलजला र सिस्नेहरूलाई
काली र मेची गर्वले फैलिएको दिन
धौलागिरि काखको विशाल पाटन त्यो
विजयको लालछाप लागेको दिन आमा
त्यही हो वेणी कब्जा गरेको दिन ।