विपी राजमार्गमा शव बरामद

बर्दिवास, १ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् ।

रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ । शव नजिकै थापाको प्रदेश–०२–००१प ३०५४ नंको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए ।

प्रहरीले अवस्था यकिन गर्न शव तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाउन लागिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घटना सडक दुघर्टना वा नियोजित नै पनि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Loading...