ठाउँ ठाउँमा पहिरो गएपछि बल्खु–कुलेखानी–हेटौडा र बनेपा-बर्दिवास जोड्ने सडक ठप्प

काठमाडाैं । अविरल वर्षापछि पहिरो गएका कारण बल्खु कुलेखानी हुँदै हेटाैडा चल्ने यातायात ठप्प भएका छन् । त्यसैगरी काभ्रेकाे बनेपा–बर्दिवास सडक पनि ठप्प भएकाे छ ।

बाढी र पहिरोका कारण तराइृ जाेड्ने र तराइबाट राजधानी काठमाडौँ प्रवेश गर्ने यी दुई वैकल्पिक मार्ग अवरुद्ध भएपछि ठूलाे संख्यामा यात्रुले दु:ख पाएका छन्।

यता सडक विभागले अबरुद्ध भएका दुबै मार्ग खाेल्ने पहल भइरहेकाे जानकारी दिएकाे छ । अाज बिहान १० बजेसम्म काठमाडौँबाट बनेपा–सिन्धुली हुँदै बर्दिबास निस्कने विपी राजमार्ग, बल्खु हुँदै कुलेखानी हेटौँडा जोड्ने सडक पूर्णरुपमा अबरुद्ध छ।

हेटौँडा बल्खु सडक सञ्चालनमा आउँन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ। यो सडकको हेटौँडा कुलेखानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ।

त्यसैगरी सिन्धुलीको खुर्कोट नजिक सडकमा माथिबाट ठूलो ढुंगो खस्दा गए रातिदेखि सडक अबरुद्ध छ। सडकको ढुंगा पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको सिन्धुलीका एसपी चन्द्रबहादुर सिंहले नेपालखबरलाई जानकारी दिए।

बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिका ११ माम्ती र सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेमा भने एकतर्फी सडक सञ्चालनमा आएको छ। पहिरोले सडक बगाउँदा विगत दुई दिनदेखि यो राजमार्ग भएर यातायातका साधन चल्न सकेका छैनन्।

Loading...