सिमकोट, २३ असार । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा भनिन्छ ।
“विवाह नगरी बसेका बेला गाउँकै एक युवकसँग शारीरिक सम्बन्ध हुँदा छोरी जन्मिइन् ।
बुवाले एकसरो सबै व्यवस्था गरिदिए । दुःखजिलो गरेर बसेकी छु”, लिमी हल्जिकी कार्जाङ्मा तामाङले आफ्नो व्यथा सुनाईन् । बुवाले माइतीको जग्गामै बनाएको घरमा बस्नुपर्ने गाउँको सामाजिक मान्यताअनुसार सम्पर्क गरेको केटा मान्छेले बच्चा जन्माउने कामबाहेक अन्य केही पनि सहयोग नगरेको उनको भनाइ छ ।
त्यसैगरी बुवाले दिएको गरिखाने जमिन, पशुबस्तु, भाँडाबर्तन, लत्ताकपडाका भरमै जीवन धान्दै आएकि ४५ वर्षीया कार्जाङ्मा तामाङसँग पछि अर्की छोरी पनि थपिएकी छन् । त्यो कसरी प्रश्न उठ्न सक्छ । घरमा श्रीमती भएकी अघोषित श्रीमान् त्यसरी एक्लै बसे पनि आउन छोड्दैनन् तर दायित्व भने केही लिँदैनन् । तामाङ भन्छिन्, “अर्की
धनीका बाआमाका लागि त अविवाहित छोरीको व्यवस्था गर्नु सहजै होला तर गरिब परिवारलाई भने निकै बोझिलो भएको उनको तर्क छ । तर, समाजले यसलाई सहर्ष स्वीकार गरेको छ । बुवाको आर्थिक अवस्था कमजोर भएका कारण जेनतेन गरिएको व्यवस्थामै निर्भर रहँदै आएकी तामाङलाई हालसम्म बेलाबखत आउने केटाले केही पनि सहयोग गरेको छैन । जीवन धान्नकै लागि बर्खामा ताक्लाकोट काम गर्न जाने गरेको पनि उनले बताईन् ।
तामाङजस्तै ३५ वर्ष उमेर पुगेकि लिमी जाङ्गकी नोरजिङ तामाङको पनि छोरा जन्मेको छ । बुवा केही हुनेखाने भएका कारण उनको व्यवस्था राम्रै छ । हालसम्म बुवाले व्यवस्था गरेको घरमा बस्दै आएकी नोरजिङका अघोषित श्रीमान् मन लागेका बेला भने आउने गरेका छन् । छोरा र आमालाई केही व्यवस्था गर्नु नपरेका उनका ती केटा मान्छे आउने, खाने र सुत्नेभन्दा अन्य केही पनि जिम्मेवारी लिँदैनन् । सामाजिक मान्यताअनुसार सबै कुरा स्वीकार गर्नु परेको नोरजिङको भनाइ छ ।
“के गर्नु, पहिले गल्ती भयो अब सहज रूपमै बस्नु प¥यो”, उनले भनिन् । समाजले अलि राम्रो दृष्टिले नहेर्दा भने केही खल्लो महसुस हुने नोरजिङको भनाइ छ । बिरामी हुँदा र अरू केही गाह्रोसाह्रो पर्दा भने पीडा खेपेको उनको भनाइ छ ।वैधानिक श्रीमान् नहुँदा समस्या धेरै आउने गरेको यस्ता महिलाहरूको अनुभव छ ।
“म त मेरी छोरीलाई यो प्रथाबाट टाढै राख्छु”, नोरजिङको भनाइ छ । लिमीका तीन गाउँ तिल, हल्जी र जाङ्गमा यस्तो ठिमाहा प्रथा स्वीकार गरेर तीस जना महिला बसेका लिमा–६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। बहुपति प्रथाकै कारण केटी मान्छे बढी हुँदा धेरै पहिलेबाट यो समस्या उब्जिएकाले समाजले सहज रूपमा स्वीकार मात्र गरेको छैन, केही विभेदपूर्ण सामाजिक नियम पनि बनाएको छ ।
यसरी बसेकी महिला र उनीबाट जन्मेको बच्चालाई समाजमा तेस्रो दर्जामा राखी पुम्ताम्बा भनिने गरिन्छ । बच्चा १८ वर्ष पुगेपछि भने दोस्रो दर्जा टुट्यो भन्ने गरिन्छ । यो मध्यम दर्जा हो । औपचारिक विवाह परम्परालाई टोङ्बा भनिने जानकारी पनि अध्यक्ष पाल्जोरले दिए।
कुनै जनसहभागिता गर्दा दर्जाअनुसार श्रमदान गर्नुपर्ने नियम छ । जब ठिमाहा प्रथाबाट जन्मिएको बच्चा १८ वर्ष नाघ्छ अनि उसलाई पनि दोस्रो दर्जामा लिने सामाजिक नियम छ ।
पहिले पहिले त केटा मान्छेले आफूबाट जन्मेको बच्चा र आमालाई केही पनि सहयोग गर्दैनथे । अचेल धेरथोर सहयोग गर्न थालिएकाले केटीलाई पनि अघोषित श्रीमान् छ भन्ने लाग्न थालेको वडाध्यक्षको भनाइ छ । आफूले कमाएकोमध्ये केही रकम दिने गरेको अविवाहित महिलासँग जोडिएका पुरुष थुक्दिन लामाले बताए। घरको सम्पत्ति भने केही पनि नदिएको बरु आफू बेलाबेला गएर उतै खाने गरेको उनले बताए। चलन यस्तै भएपछि केही गर्न बाध्य नभएको उनको भनाई छ ।
यसरी जन्मिएको बच्चा र आमाको रेखदेखका लागि लोग्ने मान्छेलाई जिम्मेवार बनाउन नाता कायम र पालनपोषणका लागि अदालतमै जानुपर्ने तर्क जिल्ला सहन्यायाधिवक्ता उदयचन्द अधिकारीको छ । तर यसका लागि कानुनी उपचार लिन कोही पनि नआएको उनले बताए।
गाउँघरमा स्थापित मान्यताअनुसार नै चल्दै आएको हुनसक्ने उनले स्पष्ट पारेका छन् । यो प्रथाले झैझगडा पनि निम्त्याउने गरेको सहन्यायाधिवक्ता अधिकारीको भनाइ छ । स्थानीयभन्दा अरू मानिस विरलै आउने लिमी गाउँमा पछिल्लो पुस्ता सबै गाउँबाहिर जान थालेपछि यो प्रथामा केही कमी आएको अध्यक्ष पाल्जोरले बताए ।