रोहितद्वारा रेकर्ड वर्षा , एकै खेलमा बन्यो १० ठुला रेकर्ड

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत अन्तिम लिग खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्यो। खेलमा रोहित शर्मा र केएल राहुलले शतकीय इनिंग खेले भने जस्प्रित बुम्राहले ३ विकेट लिंदै जितमा महत्वपूर्ण योगदान दिए।

खेलमा प्लेयर अफ द म्याच चुनिएका ‘हिटम्यान’ रोहित शर्माले २७ औं एकदिवसीय शतक पुरा गरे भने कैयौं रेकर्ड समेत आफ्नो नाम गरेका छन्। जारि विश्वकपमा कुल ६४७ रन बनाउदै सर्वाधिक रनकर्ता रहेका रोहितले ५ शतक प्रहार गरिसकेका छन्।

रोहित शर्माले बनाएका रेकर्ड र खेलको क्रममा बनेका अन्य रेकर्डहरुलाई यहाँ प्रस्तुत गरेका छौँ।  

१. एकै विश्वकपमा ५ वटा शतक 

एकै विश्वकपमा ५ वटा शतक बनाउने रोहित विश्वकप एक मात्र खेलाडी बनेका छन्। उनले पहिलो खेलमा दक्षिण अफ्रीकासंग अविजित १२२, पाकिस्तानसंग १४०, इंग्ल्याण्डसंग १०२, बंगलादेशसंग १०४ तथा श्रीलंकासंग १०३ रन बनाए।

रोहितले सन् २०१५ मा श्रीलंकाका कुमार संगाकाराले बनाएको रेकर्ड तोडेका हुन्। संगाकाराले उक्त विश्वकपमा ४ वटा शतक बनाएका थिए। मार्क वा, सौरभ गांगुली र म्याथु हेडनले एकैविश्वकपमा ३/३ वटा शतक बनाएका थिए।

२. विश्वकपमा सर्वाधिक शतक 

विश्वकप क्रिकेटमा सबै भन्दा बढी शतक बनाउने रेकर्ड रोहित शर्माले बराबरी गरेका छन्। रोहितले सन् २०१५ विश्वकपमा बंगलादेशसंग एउटा र जारि विश्वकपमा ५ शतक प्रहार गरेका हुन्। सचिन तेन्दुलकर यस अघि विश्वकपमा ६ शतक बनाउने एक्ला खेलाडी रहेका थिए।

विश्वकपमा सचिन र रोहितको ६/६ वटा तथा रिकी पोंटिंग र कुमार संगाकाराको ५/५ वटा शतक रहेका छन्। रोहितले ६ वटा शतक मात्र १६ इनिंगमा बनाएका हुन भने सचिनले ४४ इनिंग खेलेका थिए। पोंटिंगले ४२ तथा संगाकाराले ३५ इनिंग खेलेका थिए।

३. एकै विश्वकपमा ६०० बढी रन

एकै विश्वकपमा ६ सय भन्दा बढी रन बनाउने रोहित चौथो ब्याट्सम्यान बनेका छन्।

सचिन तेन्दुलकरले सन् २००३ मा पहिलो पटक यो ६०० बढी रन बनाएका थिए जुन क्रममा कुल ६७३ रन बनाएका थिए। सचिन पछि म्याथु हेडनले २००७ विश्वकपमा ६५९ रन बनाएका थिए भने जारि विश्वकपमा शाकिब अल हसनले ६०६ रन बनाएका छन्। रोहितको रन ६४७ पुगेको छ र सचिन तेन्दुलकरको रेकर्ड तोड्ने मौका रहेको छ।

४. लगातार ३ शतक

रोहित शर्मा लगातार ३ वटा शतक बनाउने विश्वका ११ औं खेलाडी बनेका छन्। रोहितले श्रीलंकासंगको शतक अघि बंगलादेश र इंग्ल्याण्डसंग पनि शतक बनाएका थिए।

लगातार सबैभन्दा धेरै शतक बनाउने रेकर्ड कुमार संगाकाराको नाममा रहेको छ जसले २०१५ विश्वकपमा बंगलादेश, इंग्ल्याण्ड, अस्ट्रेलिया र स्कटल्याण्डसंग लगातार ४ शतक बनाएका थिए।

जाहिर अब्बास, सइद अनवर, हर्षल गिब्स, एबि डी भिल्लियर्स, क्विन्टन डीकक, रोस टेलर, बाबर आजम, जोन्नी बेयरस्टो र बिराट कोहलीले लगातार ३ वटा शतक बनाएका छन्। अन्तिम पटक कोहलीले सन् २०१८ मा वेस्ट इन्डिजसंगको सिरिजमा लगातार ३ शतक बनाएका थिए।

५. सर्वाधिक प्लेयर अफ द म्याच

विश्वकपमा सबै भन्दा धेरै पटक प्लेयर अफ द म्याच हुने रेकर्डको रोहितले बराबरी गरेका छन्। चौथो पटक प्लेयर अफ द म्याच चुनिएका रोहित भन्दा अघि २०११ मा युभराज सिंह, १९९९ मा ल्यांस क्लुसनर र १९९६ मा अरभिन्दा डी सिल्भा ४ पटक उत्कृस्ट हुँदै यो रेकर्ड बनाएका थिए। जारि विश्वकपमा रोहित श्रीलंका, दक्षिण अफ्रीका, पाकिस्तान र बंगलादेशसंग प्लेयर अफ द म्याच चुनिए।

६. ठुलो ओपनिंग साझेदारी

श्रीलंकासंग रोहित शर्मा र केएल राहुलले पहिलो विकेटको लागि १८९ रनको साझेदारी गरे जुन विश्वकपमा भारतीय ओपनिंग ब्याट्सम्यानको सर्वाधिक ओपनिंग साझेदारी हो।

यस अघि रोहित र राहुलले जारि विश्वकपमा बंगलादेश बिरुद्ध १८० रनको साझेदारी गरेका थिए जुन रेकर्ड आफैले तोडेका हुन। तेश्रो ठुलो साझेदारी रोहित शर्मा र शिखर धवन बीच २०१५ विश्वकपमा भएको थियो जुन क्रममा उनीहरुले आयरल्याण्ड बिरुद्ध १७४ रन बनाएका थिए। अजय जडेजा र सचिन तेन्दुलकरले सन् १९९६ विश्वकपमा केन्या बिरुद्ध १६३ रनको साझेदारी गरेका थिए।

७. दुवै ओपनरको शतक

विश्वकपमा दुवै ओपनरले शतक बनाएको यो मात्र तेश्रो अवसर हो। यस अघि सन् २०११ मा श्रीलंकाका ओपनर उपुल थारंगा र तिलकरत्ने दिलशानले २ पटक एकै खेलमा ओपनिंग ब्याटिंग गर्दै शतक बनाएका थिए।

८. एकैविश्वकपमा सर्वाधिक शतकीय साझेदारी

जारि विश्वकपमा भारतीय ओपनिंग जोडीले ४ पटक शतकीय साझेदारी गरिसकेका छन् जुन कुनै पनि देशको लागि विश्वकपमा सर्वाधिक पटक हो। अस्ट्रलियासंग शिखर धवन र रोहित शर्माले १२७ रनको साझेदारी गरेका थिए। धवन घाइते भएर बाहिरिदा रोहित र केएल राहुलले पाकिस्तानसंग १३६, बंगलादेशसग १८० तथा श्रीलंकासंग १८९ रनको साझेदारी गरे।

९. जस्प्रित बुम्राहको १०० विकेट, दोश्रो छिटो भारतीय

श्रीलंकासंग एकदिवसीयमा १०० विकेट पुरा गरेका जस्प्रित बुम्राह भारतको लागि १०० विकेट लिने दोश्रो छिटो बलर बनेका छन्। सबैभन्दा छिटो मोहम्मद शामीले ५६ खेलमा १०० विकेट लिएका थिए भने बुम्राहले १ खेल बढी अर्थात् ५७ खेल लगाए। तेश्रो छिटो इरफान पठान ( ५९ ) , चौथो छिटो जाहिर खान ( ६५ ) र पाँचौ छिटो अजित अगरकर ( ६७ ) हुन्।

१०. विश्वकपमा कोहलीको १ हजार रन

विश्वकपमा १ हजार रन पुरा गर्ने बिराट कोहली सचिन तेन्दुलकर पछि दोश्रो भारतीय खेलाडी बनेका छन्। कोहलीले २५ इनिंगमा उक्त रन बनाएका हुन जुन क्रममा २ शतक र ६ अर्धशतक बनाएका छन्। सचिन तेन्दुलकरले मात्रै यस अघि विश्वकपमा भारतको लागि १ हजार रन बनाएका थिए। तेन्दुलकरले कुल २ हजार २ सय ७८ रन बनाएका छन्। तेश्रो धेरै रन बनाउने सौरभ गांगुलीले कुल १ हजार ६ रन बनाएका छन्।

Loading...