रोमान्चक खेलमा दक्षिण अफ्रीकासंग अस्ट्रेलिया पराजित

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई १० रनले पराजित गरेको छ। अस्ट्रेलिया लिग चरणमा यस भारतसंग पराजित भएको थियो।

यस अघिनै सेमीफाइनल रेसबाट बाहिरिएको दक्षिण अफ्रीकाले अन्तिम खेलमा सान्त्वना जित दर्ता गर्दै विश्वकपबाट बिदा भयो। ९ खेलमा दक्षिण अफ्रीकाले ३ जित, ५ हार बेहोर्यो भने १ खेल नतिजाविहिन रह्यो र अंकतालिकामा ७ अंक सहित सातौँ स्थानमा रह्यो।

सेमीफाइनल समीकरण पुरा

विश्वकपको सेमीफाइनल समीकरण पनि अब पुरा भएको छ। पराजित हुँदै अस्ट्रेलिया ९ खेलमा ७ जित र २ हारको साथ १४ अंक बटुल्दै दोश्रो स्थानमा रह्यो। आजै सम्पन्न अर्को खेलमा भारतले श्रीलंकालाई पराजित गर्दै अंकतालिकाको शिर्षस्थानमा उक्लेको थियो।

सेमीफाइनलमा अस्ट्रेलियाले अंकतालिकामा तेश्रो स्थानमा रहेको इंग्ल्याण्डको सामना गर्नेछ। १५ अंक सहित शिर्षस्थानमा रहेको भारतले चौथो स्थानमा रहेको न्युजिल्याण्डको सामना गर्नेछ।

पहिले सेमीफाइनल जुलाई ९ तारिक मंगलबार भारत र न्युजिल्याण्ड बीच ओल्ड ट्रयाफर्ड मैदानमा खेलिनेछ। दोश्रो सेमीफाइनल जुलाई ११ तारिक बिहिबार अस्ट्रेलिया र इंग्ल्याण्ड बीच एजब्यासटन मैदानमा खेलिनेछ। फाइनल खेल जुलाई १४ तारिकमा लर्ड्स मैदानमा खेलिनेछ।

रोमान्चक रह्यो खेल , वार्नरको शतक व्यर्थ

ओल्ड ट्रयाफोर्ड मैदानमा टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाएर ३२५ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ४९.५ ओभरमा सबै विकेट गुमाएर ३१५ रन मात्रै बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियन ओपनर डेभिड वार्नरले सर्वाधिक १२२ रन तथा एलेक्स केरेले ८५ रन बनाए। वार्नरले ११७ बलमा १५ चौका र २ छक्का तथा केरेले ६९ बलमा ११ चौका र १ छक्का प्रहार गरे। प्रतियोगतामा वार्नरको यो तेश्रो शतक हो। यस अघि उनले बंगलादेशसंग १६६ तथा पाकिस्तानसंग १०७ रन बनाएका थिए। ९ खेलमा ६३८ रन बनाउदै वार्नर जारि विश्वकपको धेरै रन बनाउने सुचीमा रोहित शर्मा ( ६४७ ) पछि दोश्रो स्थानमा रहेका छन्।

आरोन फिन्च ३, स्टिभ स्मिथ ७, ग्लेन म्याक्सवेल १२ तथा मार्कस स्टोइनिस २२ रन बनाएर आउट हुँदा ११९/४ को नाजुक अवस्थामा रहेको अस्ट्रेलियालाई वार्नर र केरेले पाँचौ विकेटको लागि शतकीय साझेदारी गर्दै जितको आशा दिलाएका थिए। उनीहरुले ११६ रनको साझेदारी गरे।

४० औं ओभरमा वार्नर आउट भए पछि केरेले प्याट कमिन्स ( ९ रन ) संग छैठौं विकेटको लागि ४५ रनको साझेदारी गरे। ४५ औं ओभरमा कमिन्स आउट भएपछि लगत्तै ओभरमा केरे पनि आउट भए।

खेलको पाँचौ ओभरमा घाइते भएर मैदान बाहिरिएका उस्मान ख्वाजा केरेको विकेटपछि ब्याटिंगमा आए। ४ रन बनाउदा ख्वाजा मैदान बाहिरीएका थिए।

ख्वाजा र मिचेल स्टार्कले २५ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जिततर्फ लागे। तर ४९ औं ओभरमा ख्वाजा १८ र स्टार्क १६ रन बनाएर रबाडाको बलमा बोल्ड हुँदा दक्षिण अफ्रीका खेलमा फर्कियो। उक्त ओभरमा रबाडाले ७ रन खर्चेर २ विकेट लिए।

अन्तिम ओभरमा जित्न अस्ट्रेलियालाई १८ रन आवस्यक रहेको थियो।फेलुक्वायोको पहिलो बलमा बेह्रेनडर्फले ३ रन, दोश्रो बलमा लायनले १ रन, तेश्रो बलमा बेह्रेनडर्फले २ रन तथा चौथो बलमा बेह्रेनडर्फले १ रन लिंदा २ बलमा अस्ट्रेलियालाई ११ रन आवस्यक रहेको थियो।

अन्तिम ओभरको पाँचौ बलमा नाथन लायन क्याच आउट हुन पुग्दा दक्षिण अफ्रीकाले खेल जित्यो।

दक्षिण अफ्रीकाको बलिंगमा कागीसो रबाडाले ३ ( १०-०-५६-३ ) , एन्डीले फेलुक्वायोले २ ( २.५-०-२२-२ ) तथा इमरान ताहिर ( ९-०-५९-१ ) र क्रिस मोरिस ( ९-०-६३-१ ) ले १/१ विकेट लिए।

दक्षिण अफ्रीकाको ब्याटिंग , डुप्लेसिसको शतक

यस अघि पहिले ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाएर ३२५ रन बनाएको थियो।

दक्षिण अफ्रीकाको लागी कप्तान फाफ डु प्लेसिसले सर्वाधिक १०० रन बनाए। १२ औं एकदिवसीय शतक बनाउने क्रममा उनले ९४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। जारि विश्वकपमा दक्षिण अफ्रिकी ब्याट्सम्यानको योनै एक मात्र शतक रह्यो।

यस्तै रस्सी भान डर डुसेनले ९५ तथा क्विनटन डीककले ५२ रन बनाए। डुसेनले ९७ बलमा ४ चौका र ४ वटै छक्का तथा डीककले ५१ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

पहिलो विकेटको लागि एडेन मारक्रम ( ३४ ) र क्विनटन डीककले ७९ रनको साझेदारी गरे। यस्तै तेश्रो विकेटको लागि डु प्लेसिस र डुसेनले १५१ रनओ साझेदारी गरे।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क ( ९-०-५९-२ ) र नाथन लायन ( १०-०-५३-२ ) ले २/२ तथा जेसन बेह्रेनडर्फ र प्याट कमिन्सले १/१ विकेट लिए।

ताहिर र डुमिनिको विदाई

खेल संगै इमरान ताहिर र जेपी डुमिनिको विश्वकप यात्रा पनि सकिएको छ। डुमिनिले दक्षिण अफ्रीकाको लागी १९९ एकदिवसीय खेल्ने क्रममा ५ हजार १ सय १७ रन बनाउनुको साथै ६९ विकेट पनि लिए भने ताहिरले १०७ एकदिवसीयमा १७३ विकेट लिएका छन्।

Loading...