संखुवासभामा २ इन्सपेक्टरसहित प्रहरीको विशेष कार्यदल परिचालन, के भिडन्त सुरु भएको हो ?

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिकाको हेयाङ्लामा प्रहरी र नेकपाका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको समाचार आएको छ ।

जिल्लाको सिलिङचोङ गाउँपालिका वार्ड नं. १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सोमबार बिहान सशस्त्र प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको बताइएको छ । दोहोरो भिडन्त भएको निहुँमा सरकारले सो क्षेत्रमा सोमवार दिउसो नेपाली सेना समेत परिचालन गरेको थियो । भिडन्त भएको भनिएको क्षेत्रमा नेपाली सेनाको टोली हेलिकोप्टरबाट पठाइएको बुझिएको छ ।

सोमवार त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पैदल गस्ती टोली पुगेको बुझिएको छ । दुई पक्षबीच गोली हानाहान भएको समाचार व्यापक फैलिएको भए पनि क्षति भने केही नभएको बताइएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले प्रहरीको गस्ती टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएको र त्यसपछि केहीबेर गोली हानाहान भएको दावी गरेका छन् । प्रजिअ दुलालले जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको नियमित गस्ती टोली सोमवार पनि हेयाङ्ला पुगेको र सोही गस्ती टोलीलाई देखेपछि २५ जनाभन्दा बढीको संख्यामा रहेका विप्लवका कार्यकर्ताले फायर खोलेको बताए । उनले नेकपाका कार्यकर्ताहरु प्रहरीमाथि फायर खोलेर भागेको समेत दावी गरे । तर, स्थानीयवासीले भने दोहोरो गोली हानाहान भएको थाहा नपाएको बताएका छन् । एक स्थानीयले ननस्टपखबरसँग कुरा गर्दै गोली चलेको सुनिएको तर दोहोरो हो वा एकोहोरो हो भन्ने आफूले छुट्याउन नसकेको बताए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीले भने संखुवासभामा शान्तिपूर्ण राजनीतिक कामका क्रममा जनताको घरमा बसेका पार्टीका कार्यकर्तामाथि प्रहरी लगाएर दमन गरिएको दावी गरेको छ । आफ्ना नेता कार्यकर्तामाथि गोली हान्ने, हत्या गर्ने जस्ता कामहरु सरकारले व्यापक रुपमा अघि बढाएको बताउँदै सो पार्टीले यस्तो कार्य नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी पनि दिएको छ ।

सोमवार संखुवासभामा सशस्त्र प्रहरीसँगै विप्लवका कार्यकर्ताको भिडन्त भएको र त्यसपछि नेपाली सेना समेत परिचालन गरिएको खबर आएपछि त्यसको व्यापक चर्चा चुलिएको थियो । फेरि पनि युद्धको त्रासदी सुरु हुने चर्चा पनि चलेका थिए ।

गस्तीमा गएको टोली र जिल्ला प्रहरी कार्यालयले समेत सहयोग माग गरेपछि नेपाली सेनाको टोली गएको बुझिएको छ । साथै त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५र२५ जनाको संयुक्त सुरक्षा टोली पनि पुगेको बुझिएको छ । सशस्त्र प्रहरीको नेतृत्व सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाले गरेको पनि बुझिएको छ । त्यसैगरी नेपाल प्रहरीको नेतृत्व विशेष कार्यदलमा कार्यरत प्रहरी इन्स्पेक्टर शेखरजंग मल्लले गरेका थिए ।

परिचालन गरिएको टोली लङ रेजञ्ज पेट्रोलिङका लागि परिचालन गरिने टोली हो । उनीहरुलाई नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत त्यसतर्फ मद्दत गर्न भन्दै पठाइएको बुझिएको छ । त्यसैगरी त्यस क्षेत्रमा काठमाडौंसँगै प्रदेश १ को राजधानी विराटनगरबाट समेत प्रहरीको एउटा टोली त्यसतर्फ परिचालन गरिएको थियो ।

नेकपाका स्थानीय नेता कार्यकर्ताले भने यो नक्कली भिडन्त भएको दावी गर्दै त्यस क्षेत्रमा दोहोरो भिडन्तको हल्ला फिजाएर सर्लाही र भोजपुर घटना दोहोर्याउन खोजेको दावी गरेको छ । नेकपाका एक नेताले यो आफ्नो पार्टी उत्तेजित पार्न यो सब दोहोरो भिडन्तको नाटक गरिएको बताए ।

Loading...