नेता पुनको नेतृत्वमा नुवाकोट आइपुग्यो नेकपा

Barshaman pun

नुवाकोट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संगठन विभाग प्रमुख तथा पूर्वअर्थमन्त्री वर्षमान पुन बाढीपीडितको अवलोकन र सहयोगका लागि शुक्रबार नुवाकोट आएका छन् । बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आफ्नो पार्टीका नेता–कार्यकर्तालाई समेत परिचालन गर्ने उद्देश्यले आफू स्थलगत अनुगमनमा निस्किएको पुनको प्रतिक्रिया दिए ।

उनले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको विदुर क्षेत्रको निरीक्षण गर्दै प्रभावित नागरिकको अवस्था र क्षतिको प्रत्यक्ष जानकारी लिएका थिए।

बाढीबाट भएको क्षति, जारी उद्धार तथा राहत कार्य र सरकारले अघि बढाइरहेको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासबारे पूर्व अर्थमन्त्री पुनले स्थलगत जानकारी लिए ।

विदुरमा उनले फिल्डमा खटिएका गृहमन्त्री सुधन गुरुङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायका अधिकारीसँग छलफल गरेका थिए। छलफलका क्रममा पुनले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा र तत्काल राहत र पुनर्स्थापनालाई पहिलो प्राथमिकता दिन आग्रह गरे।

रोल्पाका प्रतिनिधि सभा सदस्य समेत रहेका पुनले बाढीका कारण रसुवागढी क्षेत्रमा सम्पर्कविहीन रहेका रोल्पाका २५ नागरिकसहित सबै बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

उनले विपद्का कारण आफन्त गुमाएका तथा आफ्ना परिवारका सदस्य सम्पर्कविहीन भएका परिवारलाई राज्यले आशा र भरोसा दिलाउनुपर्ने बताए।

विपद्को पीडामा रहेका परिवारहरूलाई आशा र भरोसा दिलाउनु राज्यको दायित्व हो,’ पुनले भने । हराइरहेका नागरिकको सकुशल उद्धारका लागि खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन निरन्तर पहल र समन्वय गर्ने उनले प्रतिवद्धता प्रकट गरे ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य युवराज दुलाल, वाइसीएल अध्यक्ष पुष्प ओली लगायत दर्जनौं नेताकार्यकर्ता सहभागी रहेका वाइसीएल बागमती प्रदेश अध्यक्ष नरेश रन्जितले बताए । रन्जितका अनुसार बाढीपीडितको उद्धार र सहयोगमा वाइसीएल फिल्डमा खटिएको छ । यसअघि वाइसीएलले आपतकालीन रक्तदान समेत गरेको थियो ।