विनाशकारी बाढीबारे चिनियाँ सम्पादक याङ झाओको यस्तो विचार

(याङ झाओ CGTN को विज्ञान–प्रविधि (Sci-Tech) खण्डका प्रमुख सम्पादक हुन्। चिनियाँ समाचार संस्था CGTN का यिनै सम्पादकको टिप्पणी यहाँ सान्दर्भिक देखिएकाले प्रस्तुत गरिएको छ । source : CGTN) 

बुधबार नेपाल र दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा बगेका विनाशकारी पहिरो तथा हिलोको बहाव (मडस्लाइड) हिमालयको उच्च क्षेत्रमा उत्पन्न भएको हुन सक्ने देखिएको छ। ठूलो हिमनदी अचानक भत्किनु यसबाट सुरु भएको क्रमिक तथा एकपछि अर्को निम्तिने प्राकृतिक प्रकोपको शृंखलाको सुरुवात हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

तर वैज्ञानिकहरूले यसबारे ठोस निष्कर्ष निकाल्न अझै धेरै चाँडो हुने बताएका छन्। विपद्को अनुसन्धान जारी छ। वास्तवमा के भएको थियो र अन्ततः बरफ तथा त्यस वरपरका पहाडी भिरहरू अस्थिर हुनुको कारण के थियो भन्ने यकिन गर्न अनुसन्धानकर्ताहरूले घटनाक्रम पुनर्निर्माण गरिरहेका छन्।

अहिले भने एउटा कुरा क्रमशः स्पष्ट हुँदै गएको छ—यो एउटा मात्रै घटना नभएर एकअर्कासँग अन्तरक्रिया गर्दै र प्रभाव बढाउँदै गएका विभिन्न प्राकृतिक प्रकोपको शृंखला हुन सक्ने देखिएको छ।

सुरुवात : हिमनदी भत्किनु
स्याटेलाइटबाट प्राप्त अवलोकन तथा चिनियाँ भूगर्भविद्हरूले गरेको प्रारम्भिक विश्लेषणले बुधबार नेपालमा उच्च हिमाली क्षेत्रमा रहेको एउटा हिमनदी भत्किएको संकेत गरेको छ।

५ हजार मिटरभन्दा बढी उचाइमा रहेको ठूलो परिमाणको बरफ टुक्रिएर भिरालो पहाडी ढलानबाट तीव्र गतिमा तलतिर बगेको देखिन्छ।
र तल झरेको केवल बरफ मात्रै थिएन।

त्यो ठूलो बरफको पिण्ड तीव्र गतिमा तलतिर बग्दा विशाल बुलडोजरजस्तै काम गर्दै बाटोमा रहेका चट्टान, खुकुलो माटो, गेग्रान तथा अन्य पदार्थसमेत सोहोर्दै तल ल्याएको हुन सक्छ। यसरी सुरुमा हिमनदी भत्किएको सामान्य घटनाजस्तो देखिएको अवस्था छोटो समयमै बरफ, चट्टान र माटोको तीव्र गतिमा बग्ने मिश्रणमा परिणत भएको हुन सक्छ। यस्तो प्रक्रियालाई वैज्ञानिक भाषामा ‘आइस–रक एभलान्च’ (बरफ–चट्टान पहिरो) भनिन्छ।

त्यसपछि ठूलो परिमाणमा बरफ र चट्टानको गेग्रान पहाडी नदीको बहाव क्षेत्रमा मिसिएर तलतिर बग्दा बाटोमा थप पानी र माटोसमेत समेटिएको हुन सक्छ।

यसरी हेर्दा, हिमालको उच्च क्षेत्रमा सानो र सीमित स्थानमा सुरु भएको हुन सक्ने हिमनदी भत्किने घटना तलतिर पुग्दा निकै ठूलो र विनाशकारी विपद्मा परिणत भएको हुन सक्छ।

के जलवायु परिवर्तन जिम्मेवार थियो?
यही विषयमा वैज्ञानिकहरूले विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ।
यस विशेष हिमनदी भत्किने घटनाको प्रत्यक्ष कारण जलवायु परिवर्तन नै हो भनेर अहिले नै भन्नु हतार हुनेछ।

अनुसन्धानकर्ताहरूले सबैभन्दा पहिले हिमनदी र त्यस वरपरको पहाडलाई अस्थिर बनाउने तत्कालीन कारण पहिचान गर्न आवश्यक छ।
यसका सम्भावित कारणहरू जटिल छन्।

हिमनदीभित्र भएका परिवर्तन, बरफ वा त्यसको मुनिको चट्टानमा रहेका चिरामा पग्लिएको पानी प्रवेश गर्नु, वरपरका पहाडी ढलानको प्राकृतिक स्थिरता, पछिल्लो समयको मौसम तथा स्थानीय भौगर्भिक प्रक्रियाले समेत यसमा भूमिका खेलेका हुन सक्छन्।

तर दीर्घकालीन समयावधिमा भने वैज्ञानिकहरू जलवायु परिवर्तनको गहिरो प्रभावप्रति बढ्दो रूपमा चिन्तित छन्।

हरेक हिमनदीको पतनलाई सिधै विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्न सकिन्छ भन्ने होइन। यसलाई अझ सही ढंगले यसरी भन्न सकिन्छ—जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम निर्धारण गर्ने पृष्ठभूमिगत अवस्थाहरूमा परिवर्तन ल्याइरहेको हुन सक्छ। तर यही घटनाको प्रत्यक्ष कारण जलवायु परिवर्तन नै थियो कि थिएन भन्ने कुरा भने अझै स्पष्ट भइसकेको छैन।

किन बरफ–चट्टानको पहिरो यति विनाशकारी विपद्मा परिणत भयो?
हिमालयको अत्यन्तै भिरालो र जटिल भौगोलिक बनोट यसको एउटा प्रमुख कारण हो।

अत्यन्त छोटो तेर्सो दूरीमै यहाँको उचाइमा हजारौँ मिटरको फरक पर्न सक्छ।

समुद्री सतहबाट हजारौँ मिटर माथि हिमनदी वा पहाडको कुनै भाग भत्किँदा त्यसबाट निस्किएको बरफ, चट्टान र अन्य पदार्थ ठाडो भिरालो उपत्यकाबाट तल झर्दै जाँदा तीव्र गतिमा फैलिन सक्छन्।

यस घटनामा उच्च हिमाली क्षेत्रमा भएको बरफ–चट्टानको पहिरोबाट सुरु भएको मलबेयुक्त बहाव करिब २० किलोमिटर दूरी केवल सात मिनेटमा पार गर्दै अन्ततः गे्रङ पोर्टमा पुग्दा हिलोयुक्त बहावमा परिणत भएको थियो।

प्रकोप तलतिर बग्दै जाँदा यसको स्वरूपसमेत परिवर्तन हुन सक्छ।
बरफ छिट्टै टुक्रिन सक्छ। चट्टान र माटो बहावमा मिसिन सक्छन्। बाटोमा थप पानी मिसिन सक्छ।

यसको परिणामस्वरूप सुरुमा बरफ र चट्टानको पहिरोका रूपमा देखिएको घटना क्रमशः मलबे बग्ने बहाव (डेब्रिस फ्लो) र कतिपय स्थानमा अचानक आउने बाढीमा परिणत हुन सक्छ। यस्तो बहावले पानी, हिलो, चट्टान र बरफको मिश्रणलाई मूल पहिरो खसेको स्थानभन्दा निकै टाढासम्म पुर्‍याउन सक्छ।

महत्वपूर्ण वैज्ञानिक पाठ
यो विपद्ले हिमालयमा मात्रै होइन, विश्वका अन्य हिमाली क्षेत्रमा समेत एउटा मात्रै प्रकोपलाई अलग्गै हेर्नुभन्दा विभिन्न प्रकोप कसरी एक–अर्कासँग जोडिन्छन् र एकअर्काको प्रभावलाई कसरी बढाउँछन् भन्ने विषयमा बढी ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।
हिमनदी केवल पग्लिरहेको हुँदैन।

हिमनदीमा हुने परिवर्तनले पहाडको भिरालो भागको स्थिरतालाई प्रभावित गर्न सक्छ। अस्थिर बनेको पहाडी भागले बरफ–चट्टानको पहिरो निम्त्याउन सक्छ। त्यस्तो पहिरो तलतिर जाँदा मलबे बहाव र बाढीमा परिणत हुन सक्छ।

वैज्ञानिकहरूले यस्तो अवस्थालाई ‘बहु–प्रकोप श्रृंखला’ (Multi-hazard cascade) भन्ने गर्छन्। सम्भवतः यही नै यस विपद्बाट प्राप्त हुने सबैभन्दा महत्वपूर्ण वैज्ञानिक पाठमध्ये एक हो।
तर अहिलेका लागि यस घटनाबारे गरिएका सबै निष्कर्षलाई अन्तिम नभई प्रारम्भिक निष्कर्षका रूपमा लिनुपर्ने अवस्था छ।

उपलब्ध प्रमाणहरूले विपद्को सुरुवात उच्च हिमाली क्षेत्रमा भएको हिमनदी वा बरफ–चट्टानको भाग भत्किनुबाट भएको हुन सक्ने संकेत गरिरहेका छन्। तर पहाड अस्थिर हुनुको वास्तविक कारण के थियो, बरफ र मलबेको बहाव तलतिर बग्दै जाँदा कसरी परिवर्तन भयो तथा पछिल्लो समयको मौसम, स्थानीय भौगर्भिक अवस्था र दीर्घकालीन जलवायु परिवर्तनले यसमा कुनै भूमिका खेले वा खेलेनन् भन्ने विषयमा वैज्ञानिकहरूले अझै अध्ययन गरिरहेका छन्।

न्यानो हुँदै गइरहेको र निरन्तर परिवर्तनशील हिमालयमा यी प्रश्नको उत्तर खोज्नु हिजो के भयो भन्ने बुझ्नका लागि मात्रै महत्वपूर्ण छैन।
यसले आगामी दिनमा हुन सक्ने उच्च हिमाली विपद्लाई समयमै पहिचान गर्न, पूर्वसूचना दिन र तलका बस्तीमा पुग्नुअघि नै प्रभावकारी रूपमा उद्धार तथा प्रतिकार्य गर्न समेत सहयोग पुर्‍याउन सक्छ।

(चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत इन्स्टिच्युट अफ माउन्टेन हाजार्डस् एन्ड इन्भाइरोन्मेन्टका अनुसन्धानकर्ता ओयाङ चाओजुनले यस सामग्रीमा योगदान गरेका छन्।)