भारतले टनेल रेस्क्यू टिम र बेलिब्रिज पठाउने

काठमाडौँ । भारत सरकारले टनेल रेस्क्यू टिम र बेलिब्रिज पठाउने भएको छ। विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त टिम पठाउन लागेको जानकारी दिएका छन्। साथै, टिम पठाउनु अगाडि रेक्की गर्ने टोली बाढी प्रभावित क्षेत्रमा पुगेर निगरानी गर्ने पनि उनले बताए।

‘भारतले दुई वटा जहाज मानवीय सहायता सहित पठाइसकेको छ। तेस्रो जहाज पनि जाने तयारीमा छ। नेपालको अनुरोध अनुसार हामीले टनेल रेस्क्यू टिम पनि पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘त्यसका लागि पहिला रेक्की टिम पठाउँदैछौं, जहाँ प्रभावित क्षेत्रमा पुगेर आवश्यक सामग्रीबारे विश्लेषण गर्नेछ।’

साथै स्वास्थ्यकर्मीको टोली पनि पठाइने उनले बताएका छन्। नेपाल सरकारकै अनुरोधमा बेलिब्रिज पनि पठाउने तयारी रहेको उनले जानकारी दिएका छन्। बेलिब्रिज चाँडो जडान गर्नका लागि प्राविधिक टोली पनि पठाइने उनको भनाइ छ।

भारत सरकारले राष्ट्रिय विपद प्रतिकार्य बल (एनडिआरएफ) को टिमलाई आवश्यक सामग्रीसहित पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको पनि उनले बताए। नेपाल सरकारले माग गरेका अन्य सहयोगका लागि पनि तयार रहेको उनले बताए।