बार्सिलोना छोड्नुको कारण खोले नेमारले । मेसी जस्तो महान खेलाडी विश्वले फेरि नपाउने दावी

एजेन्सी । विश्व फुटबलमा अहिलेसम्मको रेकर्ड तोड्दै चर्चित ब्राजिलियन स्टार नेमारले आफूले बार्सिलोना छोड्नुको कारणबारे पहिलो पटक मुख खोलेका छन् ।

फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी रकमको प्रस्ताव गरेपछि बार्सिलोना छोडेका नेमारले पीएसजीसँगको सम्झौतामा हस्ताक्षर गरेपछि यसबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । पीएसजीसँग नेमारले शुक्रबार बिहानमात्र सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उनी २ सय २२ मिलियन यूरोमा पीएसजीमा आवद्ध भएका हुन्।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै नेमारले आफू यूरोपको ज्यादै महत्वाकांक्षी क्लबमा प्रवेश गरेको बताए। उनले बार्सिलोना छोडेर पीएसजी रोज्नुको कारण पनि खोलेका छन्। ‘पीएसजीको महत्वाकांक्षाले मलाई आकर्षित गर्यो,’ उनले भने, त्यससँगै क्लबले देखाएको आशा र उत्साहमा म समाहित भएँ।’

‘म आजैदेखि चुनौती स्वीकार गर्न तयार छु,’ उनले थपे, ‘म त्यो सबै कुरा दिनेछु, जुन मेरा नयाँ सहकर्मीलाई आवश्यक पर्नेछ।’

पीएसजीले आजै नेमारसँगको सम्झौता औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ । साथै उनले पीएसजीबाट आफ्नो पहिलो खेल एमियन्ससँग पार्क डे प्रिन्समा खेल्ने बताइएको छ ।

यो सँगै उनी विश्वका सबैभन्दा महंगो खेलाडी बनेका छन्। यसअघि म्यानचेस्टर यूनाइटेडले पाउल पोग्बालाई यूभेन्टसबाट भित्र्याउदा ८९ मिलियन पाउण्ड तिरेको थियो। सो कीर्तिमानलाई भंग गर्दै नेमार झण्डै दोब्बर रकममा पीएजी आबद्ध भएका हुन्। नयाँ सम्झौताअनुसार पीएसजीबाट उनले वार्षिक ४५ मिलियन यूरो कमाउनेछन्। पाँच वर्षका लागि पीएसजीमा आबद्ध भएका नेमारले हप्तामा ८ लाख ६५ हजार यूरो पाउने सम्झौतामा उल्लेख गरिएको छ।

मेस्सी विश्वको सर्वोकृष्ट खेलाडी

यसैबीच नेमारले लियोनेल मेस्सी विश्वकै सर्वोकृष्ट खेलाडी भएको बताएका छन् । इन्स्ट्राग्राममा आफ्नो भिडियो पोष्ट गर्दै नेमारले मेसीजस्तो खेलाडी विश्वले अब सायदै पाउने समेत दावी गरेका छन् ।

उनले सन्देशमा भनेका छन् ‘मैले विश्वकै सर्वोत्कृष्ट खेलाडीसँग खेल्ने मौका पाएँ। मैले आफ्नो जिन्दगीमा देखेको सबैभन्दा राम्रो खेलाडी मेस्सी नै हुन, र मलाई लाग्छ उनीभन्दा राम्रो सायदै कोही आउनेछ। मेस्सी मैदानभित्र मात्र नभएर मैदान बाहिरपनि मेरो मिल्ने मित्र थिए। उनीसँग खेल्न पाउनु निकै गर्वको कुरा हो ।’ बार्सिलोनामा मेस्सीले १० नम्बरको जर्सी लगाउने गर्दथे। नेमारले पनि पिएसजीमा १० नम्बर कै जर्सी लगाउने भएका छन्।

बार्सिलोनाका सहकर्मी सधै हृदयमा रहने

इन्स्टाग्रामको भिडियोमा नेमारले बार्सिलोना र उनका समर्थकका लागि भावुक सन्देश दिएका छन्। जसमा उनले बार्सिलोनामा रहँदा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्। साथै उनले पिता नेमार सिनियरको इच्छाविपरीत बार्सिलोना छोड्ने निर्णय लिएको संकेत पनि गरेका छन् । बार्सिलोनामा आफूले अविष्मरणीय समय बिताएको उल्लेख गर्दै उनले बार्सिलोनाका सहकर्मीहरु सधैँ आफ्नो हृदयमा रहने उल्लेख गरेका छन्।

यस्तो छ नेमारको खेल जीवन

नेमार ब्राजिलको साओ पाउलोमा १९९२ मा जन्मिएका थिए। सन् २००९ मा ब्राजिली क्लब सान्तोसबाट उनले व्यवसायिक फुटबल खेल्न सुरु गरेका हुन्। सान्तोसमा रहदा उनले २ सय २९ खेलमा १ सय ३८ गोल गर्दै टप स्कोरर रहेका थिए।

त्यसपछि उनलाई रियल मड्रिड, चेल्सी र म्यानचेस्टर युनाइटेडले लिन खोजेका थिए। तर सन् २०१३ मा उनी बार्सिलोनासँग आबद्ध भए। त्यतिवेला उनी २१ वर्षका थिए।

सोही वर्ष लेभन्टेविरुद्ध मैदानमा उत्रँदै उनको बार्सिलोनामा डेब्यु भएको थियो। बार्सिलोनाका लागि उनले १ सय ८६ खेल खेले। जसमा १ सय ५ गोल गरेका उनले ८० गोलमा साहयकको भूमिका पनि निर्वाह गरेका थिए।

नेमार बार्सिलोनामा हुँदा क्लबले दुई पटक ला लिगा उपाधी जित्यो भने एकपल्ट च्याम्पियन्स लिगको उपाधी हात पार्यो। ब्राजिलको राष्ट्रिय टीममा १८ वर्षमै डेब्यु गरेका नेमारले ७७ खेल खेल्दै ५२ गोल गरेका छन्।

 

Loading...