घुसको रकमसहित सल्यानमा इकाइ प्रमुख वली पक्राउ

 


सल्यान । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख धनबहादुर वली घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई २५ हजार नगद रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको हो ।

गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत वलीलाई शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिएको अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएको हो ।

वलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

वलीलाई घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित निजकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Loading...