प्रचण्डमाथि अचम्मको दवाव, नामै दिन नसक्ने अवस्थामा प्रचण्ड पुगेपछि कार्यक्रम स्थगित

काठमाडौं, ३ जेठ । कार्यकर्ताको तीब्र असन्तुष्टी र दवावका कारण प्रचण्डले अन्तिम समयमा आएर आफ्नो तर्फबाट पोलिटब्यूरोमा राख्नुपर्नेहरुको नाम नदिएपछि नेकपामा समस्या आएको छ ।

नेकपाको पार्टी एकतालाई पूरा गर्न आज शुक्रबार पोलिटब्यूरोको अन्तिम नामावली घोषणा गर्ने कार्यक्रम तय भएको थियो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक बर्ष पुगेको अवसर पारेर आज जनवर्गीय संगठनहरुसहित पोलिटब्यूरोको नामावली पनि घोषणा गर्ने बताइएको थियो । तर, प्रचण्डकै कारण अन्तिम समयमा रोकिएको बताइएको छ।

यसअघि सचिवालयमा रहेका २५ वैशाखमा नै शीर्ष पाँच नेता बसेर १४७ सदस्यीय पोलिटब्यूरोको अन्तिम सूची तयार पारेका थिए । तर, उक्त नामावली पार्टीमा छलफल नै नगरी बाहिर सञ्चारमाध्याममा आएपछि धेरै नेताहरुले त्यसको विरोध गरेका थिए । विरोधका साथै केही नेताहरुले प्रचण्डलाई भेटेर दवाव पनि दिएका थिए ।

दवावका कारण नै प्रचण्डले बिहिबारको बैठकमा आफ्नो तर्फबाट पोलिटब्यूरोमा राख्नेहरुको तत्काल नाम दिन नसक्ने बताए बताएका थिए । उनले त्यसरी असक्षमता दर्शाएपछि शनिबार फेरि बैठक तय गरिएको बताइएको छ ।

बैशाख २५ गते बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी भएका थिए । उक्त बैठकले पूर्वएमालेबाट ८१ र पूर्वमाओवादी केन्द्रबाट ६६ सदस्य रहने गरी १४७ सदस्यीय पोलिट्ब्यूरोको नामावली तयार गरिएको थियो ।

नेकपाका सचिवालयका एक सदस्यका अनुसार पूर्वमाओवादी तर्फबाट १९ जना स्थायी कमिटीसदस्य बाहेक नयाँ ४७ जनाको नाम सार्वजनिक भएपछि अध्यक्ष दाहालमाथि पार्टीभित्रका समूहहरुले दबाब बढाएका छन्। जसले गर्दा अध्यक्ष दाहाललाई समस्या भएको बताइएको छ । उनले पार्टीभित्र सबै कुरा मिलाउन समय लिन खोजेको ती सचिवालयका सदस्यले बताए ।

यसैगरी जनवर्गीय संगठनकाे नेतृत्वका बारेमा सचिवालयकाे निर्णय अाएपछि पनि नेकपामा व्यापक असन्तुष्टि छाएकाे छ । प्रचण्डकाे अाग्रहलाइ अवाज्ञा गर्दै कतिपय कार्यकर्ताहरु सामाजिक सञ्जालमै लेखेर विराेध गर्न थालेका छन् । त्यसमध्ये बिद्यार्थी संगठनमा व्यापक असन्तुष्टि छाएकाे छ । त्याे पनि पूर्व माअाेवादी केन्द्रका विद्यार्थी नेताहरुमा बढी असन्तुष्टि देखिएकाे छ । 

विद्यार्थीकाे नेतृत्व पूर्व एमाले निकट अनेरास्ववियुका महासचिव ऐन महरलाई दिएपछि पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका बिद्यार्थी नेताहरुले असन्तुष्टी जनाएका छन् । यसरी असन्तुष्टी जनाउनेमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतका बिद्यार्थी नेताहरु छन् ।

नेकपाको हिजोको सचिवालय बैठकले विद्यार्थीको नेतृत्व पूर्व एमालेको भागमा पर्ने गरि सहमति गरेको थियो । संगठनको एकता पछि आफूलाई सह संयोजक बनाएकोमा बिद्यार्थी नेता रञ्जित तामाङ असन्तुष्ट छन् । असन्तुष्ट रहेका तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘कहिले काहीँ समयले पनि मजाक गर्दो रहेछ ।’

त्यस्तै अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले पनि बिद्यार्थीको एकता गर्दा बिधिमा ध्यान नपुर्याएको भन्दै असन्तुष्टी पोखेका छन् । उनले लेखेका छन् ”एकापट्टीको निर्वाचित अध्यक्षलाई अर्कापट्टीको अध्यक्ष मुनि मात्र हैन, उपाध्यक्ष मुनि समेत पनि हैन महासचिव भन्दा मुनी राखेर यदि त्यसैलाई विधि भनिन्छ भने त्यो अरुअरु कुरा होला कमसेकम विधि चाहिँ हैन ।”

तत्कालीन अनेरास्ववियूका महासचिव ऐन महरलाई विद्यार्थी संगठनको संयोजक बनाइएको छ । अनेरास्ववियूकी अध्यक्ष नविना लामा भने सांसद छिन् । तामाङको फेसबुक स्टाटसमा कतिपयले तामाङको पक्ष र विपक्षमा मिश्रित प्रतिक्रिया दिएका छन् ।

भानुभक्त नेवारले तामाङको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्,‘ यो तपाईं प्रति मात्रै होईन संगठन प्रति नै गरेको अन्याय हो । मेरो कुनै व्यक्ति विशेषको विरोध हैन तर संगठन नीति,नियम र कार्यविधि अनुसार नचलाई ठालुहरुको पछि लाग्नेहरुलाई मात्रै स्थापित गर्ने टिके प्रचलनको विरोध गर्नुपर्छ ।’

यस्तै अर्का फेसबुक प्रयोगकर्ता प्रकाश रावलले भनेका छन् ‘आफू भए क्रान्तिकारी निर्णय हुने अर्को भए मजाक हुने अचम्म छ ।’ भनेर लेखका छन् । यस्तै सुरेन्द्र बस्नेतको स्टाटसमा पनि मिश्रीत प्रतिक्रिया आएको छ ।

Loading...