७८ घुस खाने अख्तियारका पूर्व आयुक्त ७८ लाख धरौटी बुझाएर थुनामुक्त

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले माग गरेको ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

७८ लाख रुपैयाँ घुस मागेकाे भिडियाे सार्वजनिक भएपछि अख्तयारबाट राजीनामा दिएका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए। आजै भएकाे थुनछेक बहसपछि पाठकसँग विशेषले घुष लिएकाे विगाे रकम बराबर ७८ लाख रूपैयाँ धराैटी माग गरेकाे थियो। अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धराैटी माग गरेकाे हाे।

पाठककाे धराैटीका लागि नेपाल बंगलादेश बै‌ंक ग्यारेन्टी बसेकाेले उनी तारेखमा रिहा भएको विशेष अदालतका उप रजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए।

घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गरेको थियो। २०७५ चैत १२ गते उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो।

अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ। भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घूस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ।

उक्त दफामा ५० लाखदेखि १ करोडसम्म घूस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने भनिएको छ। सोही ऐनको दफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घूस लिएको पुष्टि भए यी दुवै सजाय हुने भनिएको छ। यो घूस प्रकण प्रमाणित भए पाठकको हकमा दुवै व्यवस्था आकर्षित हुन्छन्।

दुवै व्यवस्थाअनुसार उनलाई ९ देखि १२ वर्षसम्म कैद हुनेछ। अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ। ऐनअनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नु पर्नेछ। सोही बराबरको उनको सम्पत्ति जफत हुनेछ।

पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन्।

Loading...