विद्यालय गेटबाट बालक अपहरण गर्नेमा आफन्तकै हात

काठमाडौं, १७ साउन । बालक विशाल चौधरीको अपहरण कान्डमा उनका आफन्त नै रहेको अनुमान गरिएको छ । नेपाल प्रहरीले यसको पूरा विवरण सार्वजनिक नगरे पनि अनुसन्धान भने बालककै आफन्तहरुमाथि बढी सोझ्याइरहेको थाहा भएको छ ।

राजधानीको क्षेत्रपाटीस्थित एक निजी स्कूलको गेटबाट अपहरित ५ वर्षीय बालक विशाल चौधरीको अपहरण आफन्त वा चिनजानकै व्यक्तिबाटै भएको दाबी प्रहरीको छ । बालकलाई अपहरणको ५ दिनपछि सोमबार बिहान काँडाघारीबाट उद्धार गरिएको थियो ।

प्रहरीले अध्ययनका क्रममा विद्यालयको गेटमा राखेको सीसी क्यामेराको भिडियो फुटेज अध्ययन गरेको थियो । उक्त भिडियो फुटेजमा एक व्यक्तिले बालक विशाल चौधरीलाई मोटरसाइकलमा हालेर लगेको देखिएको छ । बालक ती व्यक्तिसँग हाँसीखुसी गएको देखिएको छ । यसरी बालक हाँसीखुसी उनीसँग गएको देखिएका कारण ती व्यक्ति चिनजानकै आफन्त वा व्यक्ति भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले अनुसन्धानको प्रारम्भिक सूचनाले यसमा आफन्त वा चिनेजानेकै व्यक्तिको हात रहेको देखिएको जनाएको छ । प्रहरीले प्रारम्भिक अध्ययनका आधारमा केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुको अहिले बयान लिइरहेको र उनीहरुको बयान सकिएपछि सबै कुरा बाहिर आउने पनि प्रहरीले जनाएको छ ।

काँडाघारीको एउटा घरमा रहेका विशाललाई उद्धार गर्दा प्रहरीले उनीसँगै एक अर्को व्यक्ति देखेको थियो । उनी बालकलाई नै कुरेर बसेका थिए । प्रहरीले ती कुरुवा व्यक्ति लाई पनि नियन्त्रणमा लिएको छ। उनले दिएको बयानबाट पनि केही कुरा पत्ता लाग्ने आशा प्रहरीको छ ।

त्यसैगरी, प्रहरीले अहिलेसम्मको अनुसन्धानबाट, बालक अपहरणकर्ताले परिवारसँग अपहरणको दोस्रो दिन ५० लाख रुपैयाँ फिरौती मागेको पत्ता लगाएको छ। ‘यसबारे हामीले केही थप सूचनाहरु पनि जम्मा गरेका छौं’ प्रहरी स्रोतले भन्यो, ‘अनुसन्धान अब आफन्ततिरै सोझिएको छ।’

क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलमा दिउँसो छुट्टी हुने बेलामा बिहीबार बच्चा लिन बाबु विजय चौधरी पुग्दा विशाल स्कुलबाट बाहिरिइसकेको खबर पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए। बच्चा हराएको खबर टोलभरी फैलियो। केही मान्छेहरु जम्मा भए। प्रहरीलाई खबर गरियो र प्रहरीले खोजतलास सुरु गर्‍यो।

Loading...