प्रम ओलीले निर्मला पन्तका बारे खोले यस्तो रहस्य

प्रधानमन्त्री ओलीको अनौठो दावी

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को रहस्य खोलेका छन् ।

प्रधानमन्त्री ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएको रहस्य त खोलेका होइनन । तर, उनले हत्यारा पत्ता के का कारण पत्ता लाग्न नसकेको हो भन्ने बारे रहस्य खोलेका हुन् । कञ्चनपुरवासी र आम जनताले अहिलेसम्म बालिका पन्तको बलात्कार र हत्यामा उपल्लो राजनीतिक तहको समेत सम्लग्नता रहेका कारण पत्ता लाग्न नसकेको आशंका गर्दै आएका छन् । तर, प्रधानमन्त्री ओलीले भने यसको सम्पूर्ण दोष केही राजनीतिक दल र गैरसरकारी संस्था (एनजिओ) माथि लगाएका छन् ।

प्रम ओलीले यो कुराको रहस्य आफ्नै पार्टीको बैठकमा खोलेका हुन् । मंगलबार नेकपा संसदीय दलको बैठक बसेको थियो । सोही बैठकमा ओलीले निर्मला पन्तका हत्यारा सजिलैसँग पत्ता लगाउन सकिने भए पनि राजनीतिक दल र एनजिओका कारण पत्ता नलागेको बताए ।

केही दल र एनजिओ निर्मला प्रकरणलाई राजनीतिक मुद्दा बनाएर सरकारका विरुद्ध सुरुदेखि नै ‘तमासा’ देखाएकाले हत्यारा पत्ता लाग्न नसकेको प्रधानमन्त्री ओलीले संसदीय दलमा सुनाए । उनले यसरी सजिलैसँग पत्ता लगाउन सकिने कुरा पनि पत्ता नलागेको र यो रोक्ने को हो भन्नेबारे ओलीले कुरा गरिरहँदा सांसदहरु भने रुचिपूर्वक उनका कुरा सुनिरहेका थिए ।

प्रम ओलीले निर्मला पन्तका बुबा र आमालाई मानसिक सन्तुलन गुमाउने गरी राजनीतिक खेलौना बनाइएको आरोप पनि लगाएका छन् । उनले ‘निर्मलाका बुबा र आमालाई घेरेर बन्दीजस्तो बनाइयो । अनसन बसाइयो । मानसिक सन्तुलन गुमाउने अवस्थामा पुर्‍याइयो’, प्रधानमन्त्रीले भने, ‘यो प्रवृत्ति उचित होइन ।’

संसदीय दलको बैठकमा बोल्दा बोल्दै अझै उत्तेजित हुँदे ओलीले भने, ‘घटना घट्न पाएको छैन, फलानोलाई किन गिरफ्तार गरेको, फलानोलाई किन गिरफ्तार नगरेको, भनियो । राजनीतिक पार्टीका कारण निर्मला पन्तबारे निश्पक्ष छानविन हुन पाएन ।’

प्रम ओलीले भने, ‘अहिले १२ वर्ष अगाडिका अपराधका मुद्दाहरुमा गिरफ्तार भइरहेका छन् । व्यापक रुपमा गिरफ्तार भइरहेका छन् । एउटा निर्मला पन्तको केस, त्यो सजिलोसँग पत्ता लाग्थ्यो । तर, राजनीतिक पार्टी र गैरसरकारी संस्थाहरु मैदानमा उत्रिए । पहिलो दिनदेखि सरकारका विरुद्ध तमासा गर्ने काम सुरु भयो ।’

बैठकमा प्रम ओलीले निर्मला पन्त प्रकरणबाहेक अन्य अपराधका घटनामा भने सरकारले सफलता हात पारिरहेको प्रधानमन्त्रीले दाबी गरे । साथै उनले देशमा शान्ति सुरक्षाको अवस्था निकै राम्रो रहेको पनि सुनाए । उनले निर्मला पन्तको एउटा घटनामा मात्र हत्यारा पत्ता नलागेको तर अन्य तमाम घटनामा भने प्रहरीले सफलता पाइरहेको बताए । त्यति मात्र होइन प्रम ओलीले अहिलेजति समाजमा शान्ति सुव्यवस्था कायम भएको छ, त्यति यसअघि कायम नभएको पनि दावी गरे ।

Loading...