विप्लवका जुम्ला इन्चार्ज सुन्धाराबाट पक्राउ

काठमाडौं, ३ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रविर तिरुवा ‘रविकिरण’लाई प्रहरीले पक्राउ गरेको छ ।

उपचारको लागि काठमाडौं आएका उनलाई सोमवार दिउसो सुन्धाराको एक होटेलबाट पक्राउ गरेको हो । रविकिरणसँगै जुम्लाकै वीर कठायतसहित ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा उपचारकै लागि जुम्लाबाट काठमाडौं आएका सुर्य कठायत र जुम्लाका पत्रकार राजबहादुर कुँवर पनि थिए । सुर्य कठायत र पत्रकार राजबहादुर कुँवरलाई प्रहरीले साँझ ९ बजे रिहा गरेको थियो भने अरु दुई जनालाई भने जिल्ला प्रहरी कार्यालय काठमाडौंको टेकुस्थित हिरासतमा राखेको बुझिएको छ ।

प्रहरीले पत्रकार कुँवरले आफू पत्रकार भएको परिचयपत्र देखाउँदा देखाउँदै पनि दिउसो १२ बजे सुन्धारामा नियन्त्रणमा लिएको र दिनभरि एउटा होटेलको कोठामा बन्दी बनाएर राखेको बताए । प्रहरीले आफूहरुको मोवाइलसहित सबै सामान नियन्त्रणमा लिइ कोठामा थुनेर मानसिक यातना दिएको बताए । उनले रविकिरण अन्डकोषको समस्या बढेपछि केही दिनदेखि विर अस्पतालमा उपचार गर्दै आएको र सोही क्रममा सुन्धारामा रहेका बेला उनी पक्राउ परेको जानकारी दिए ।

प्रहरीले काठमाडौमा अध्ययन गरेर बसेका वीर कठायतको फोन ट्रयापिङ गरेको र उनै मार्फत अरुलाई पक्राउ परेको बुझिएको छ । पक्राउ गर्ने क्रममा पनि प्रहरीले पत्रकार कुँवर र सुर्य कठायतलाई ‘तपाईहरुलाई समात्न आएको त होइन तर तपाईहरुसँग सम्पर्क हुने मान्छे’ खोजेको भन्दै नियन्त्रणमा लिएको बताए ।

कुँवरले प्रहरीले अनावश्यक रुपमा आफूलाई दिनभर नियन्त्रणमा लिएको र साँझ ५ बजे गाडीमा राखेर टेकुस्थित हिरासतमा पु¥याइ साँझ ९ बजेतिर रिहा गरेको थियो । उनले प्रहरीले आफूलाई नियन्त्रणमा लिनु प्रेसमाथिको हस्तक्षेप भएको र प्रहरी प्रेसलाई नियन्त्रण गर्न उद्धत रहेको बताए ।

Loading...