प्रधानमन्त्री ओलीले नैतिकता र कानुनी घात गरेर सफेद घुस खाएः पूर्वसहायक रथी

नेपाली सेनाका पूर्व सहायक रथीले प्रधानमन्त्री र रक्षामन्त्रीमाथि गरे कडा प्रहार, भन्छन तागत भए मलाइ गोली हानेर देखाउ

काठमाडौं । नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले सफेद रुपमा घुस खाएर घात गरेको बताएका छन् । एक अनलाइन टेलिभिजनसँग कुराकानी गर्दै बस्न्यातले रक्षामन्त्री र प्रधानमन्त्रीले सुरक्षा परिषदलाई वाइपास गरेर आफ्नो मनमौजी काममा सेना परिचालन गर्ने ध्येयका साथ विधेयक ल्याएको पनि आरोप लगाएका छन् ।

पूर्व सहायक रथी बस्न्यातले प्रम ओलीले नेपाल सरकारको स्वीकृति नलिएरै सफेद घुस खाएको दावी गरेका छन् । उनले भनेका छन्, “ओलीले मुनको होली वाइन खाए वापत एक लाख डलर र तक्मा लिएका छन् । यो नैतिकता र कानुनी आधारमा घात हो ।” उनले थपेका छन्, “वि.सं. १६७४ सालमा कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले औपचारिक रुपमा नमस्कार गरेर कृश्चियन धर्म भित्र्याएका रहेछन् । यत्रो ग्यापमा अहिले केपी शर्मा ओलीले औपचारिक रुपमा त्यो धर्मलाई धारणा गरे । यो अपराध हो ।”

पूर्व सहायक रथीहरु डा. प्रेमसिंह बस्न्यात र पूर्व सहायक रथी धर्म बानियाँमाथि कारवाही भएको भनेर समाचार आएपछि उनले त्यसका बारेमा आफ्नो धारणा दिएका हुन् । उनले नेपाली सेनाको बैशाखी टेकेर कुनै कारवाहीको हल्ला चलाउन नपाउने भन्दै त्यसको कडा विरोध गरेका छन् । साथै उनले सरकारको तागत भए सेनाको वैशाखी नटेकेर आफूमाथि कारवाही गरेर देखाउन पनि चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको बैठक नै नबसाई सेना परिचालन गर्नेबारे एउटा कालो सपना र कालो योजना बनाएको बताए । आफूले देशमा दुर्घटना नहोस भनेर बोलेको बताउँदै आफूले होली वाइन खाएर नबोलेको पनि बताएका छन् ।

कुराकानीमा बस्न्यातले देशका कार्यकारी मन्त्रीहरुलाई एसएलसी पास गरिदिन पनि आग्रह गरेका छन् । उनले करिश्मा मानन्धर, मोहन वैद्यकी धर्मपत्नी, दाङकी सांसद शान्ता चौधरीले अनुभूति गरेर एसईई परीक्षा दिन लाज नमानेको प्रसङ्ग उल्लेख गर्दै नेताहरुले पनि लाज नमानेर परीक्षा दिनुपर्ने बताए । अहिले टुप्पाबाट पलाएकाहरुले जे जे पायो त्यही बोलिरहेको बताउँदै आफ्नो जग नहेर्नेहरुले अरुकाे मुख बन्द गर्न खोजेको दावी गरे । उनले सक्ने भए गोली ठोक्न समेत चुनौती दिए । एक प्रसंगमा उनले आफ्नो सर्वस्वहरण गर्न सक्ने अधिकार राज्यलाई भए पनि त्यसको कारण चाहिने बताए ।

रक्षामन्त्री ईश्वर पोखरेलको पालामा रक्षा कुटनीति बिग्रिएकाे भन्दै त्यसकाे बस्न्यातले कडा विराेध गरेका छन् । अमेरिकी विदेशमन्त्री नेपाल आएर रक्षामन्त्रीकै टेवल अगाडि चीनका विरुद्ध बोलेको बताउँदै त्यसका बारेमा रक्षामन्त्रीले एक शब्द पनि नबोलेको दावी गरे । अमेरिकी विदेशमन्त्रीले रक्षामन्त्रीका अगाडि चीनकाे विराेध गरेकै दिन बेलुका चिनियाँ राजदुतले एक वक्तव्य जारी गरेको पनि उनले बताए ।

बस्न्यातले प्रधानमन्त्रीले सुरक्षा परिषदलाई वाइपास गरेर सिधै सेना परिचालन गर्नेबारे योजनाको परिकल्पनाकार यिनै रक्षामन्त्री भएको पनि बताए । उनले प्रधानमन्त्रीको तावेदारी गरिरहेको पनि अाराेप लगाए । प्रधानसेनापति, तीन वटा आईजेपीसमेत भएर देशको सुरक्षा परिस्थिति गर्ने परिषदलाई वाइपास गरेर आफ्नो मनमौजी काममा सेना परिचालन गर्ने सोचसहित विधेयक लगिएको बताए ।

बस्न्यातले आफूलाई कारवाही गरेको भनेर गरिएको हल्ला सही नभएको भन्दै भनेका छन्, “कारवाही उनीहरुले मलाई होइन, मैले उनीहरुलाई कारवाही गरेकाे छु ।” बस्न्यातले गलत कुरालाई ढाकछोप गर्ने बानी परेकाहरुले आफ्नो चरित्रहत्या गन खाजेको पनि दावी गरे । उनले आफूलाई सैनिक ऐनले छुन नसक्ने बताउँदै अहिले आफू अरु नागरिक सरह भएका कारण सरकारले सेनालाई वैशाखी बनाएर आफूमाथि प्रहार गर्न नसक्ने बताए ।

बस्न्यातले प्रश्न गर्दै भनेका छन्, “देउताको नाममा कसम नखाने अहिलेका प्रधानमन्त्री र प्रधानन्यायाधिशहरु जनताको नाममा वाइडवडी खान मिल्छ ? होली वाइन खान मिल्छ ?”

उनले आफूले अब मौनता भंग गरेको पनि जानकारी दिए । उनले आफूलाई आफ्ना शुभचिन्तकले केही सुझाव दिएको पनि बताएका छन् । त्यसमा उनले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्व रक्षामन्त्री भिम रावल, पूर्व आईजेपी अच्यूतकृष्ण खरेल, पूर्व जर्णेल चिनियाँ बस्नेत, पूर्व पूर्व सहसचिव मोहनसिंह खडका सहितले आफूलाई भाषा चयनमा शिष्टता अपनाएर बोल्दिनुस भनेर सुझाव दिएको जानकारी दिए । उनीहरुप्रति आफू आभारी रहँदै अब माैनता भंग गरेर बोल्ने पनि उनले बताए ।

उनले भनेका छन्, “म विगतमा नेपाली सेनामा काम गरेको पूर्वसैनिक हुँ । मैले नेपाली सेना, देश र सार्वभौमसत्तालाई सधै सम्मान गर्दै आएको छु । मलाई सेनाले कारबाही गर्न पनि सक्दैन । मैले गलत बोले भने मलाई सरकारले कारबाही गर्नुपर्छ । सेनाको बैशाखी टेकेर मलाई कारबाही गर्न सरकारले सक्दैन । सरकारको तागत छ भने मलाई सेनाको वैशाखी नटेकी कारबाही गरेर देखाओस् । मलाई सरकारको डर मान्ने अवस्था छैन । मलाई कसैले, मेरा जेष्ठहरुले कुनै सुझाव दिए भने म मानिदिन सक्छु । मेरा शुभेच्छुकको सुझाव बमोजिम केही दिन नबोलेको मात्रै हुँ । ओली र रक्षामन्त्री ईश्वर पोखरेलको डरले नबोलेको होइन।”

बस्न्यातले विप्लवले राष्ट्रियताको पक्षमा लिएको अडान सही भएको बताएका छन् । उनले विप्लवलाई प्रतिबन्ध लगाउनेहरुले आफूले सीमा मिचिएका बारेमा एक शब्द बोलेर देखाउन चुनौती पनि दिएका छन् ।

हेर्नुहाेस सहायक रथी बस्न्यातकाे अन्तरवार्ता

Loading...