रसुवा बाढी : सतर्क रही उद्धारमा जुट्न र सुरक्षा निकायको निर्देशन पालना गर्न प्रचण्डको अपिल

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठुलो बाढी आएको खबरप्रति नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चिन्ता व्यक्त गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्।

‘नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न हार्दिक अपील गर्दछु,’ उनले भनेका छन्।

विपद्को यो समयमा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको उल्लेख गर्दै प्रचण्डले सरकार, सुरक्षा निकाय, राजनीतिक दल र आम नागरिकलाई एकजुट हुन आह्वान गरेका छन्। उनले थपे, ‘संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबै एकजुट भई उद्धार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाऔँ।’

यस्तै, प्रचण्डले आफ्नो पार्टी पङ्क्तिलाई तत्काल उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएका छन्। उनले भनेका छन्, ‘नेपाली कम्युनिस्ट पार्टीका सम्पूर्ण पार्टी पङ्क्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र मानवीय सेवामा जुट्न तथा स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गर्दछु।’