डर्टमन्डको पोष्टमा बायर्नको गोलको वर्षा

एजेन्सी । बलियो प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डमाथि गोल बर्षा गर्दै साविक विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वार्यनले वोरुसिया डर्टमन्डलाई ५–० गोलले हरायो ।

घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । माट हुमेल्स, सेर्गी गनाब्री र जाभी मार्टिनेजले एक एक गोल गरेका थिए । वायर्नले १०औं मिनेटमा हुमेल्सको गोलबाट अग्रता लिएको थियो ।

१७औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता दोब्बर बनाए । ४१औं मिनेटमा मार्टिनेजले तेस्रो गोल गरे । ४३औं मिनेटमा सेर्गीले चौथो गोल गरेका थिए ।

त्यसपछि ८९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई फराकिलो जित दिलाए । यससँगै लेवान्डोस्कीले बुन्डेस लिगामा दुई सय गोल पूरा गरेका छन् ।

बुन्डेस लिगामा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी बनेका लेवान्डोस्कीले दुई ८४ खेलबाट दुई सय १ गोल गरिसकेका छन् । जितसँगै वायर्नले २८ खेलबाट ६४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको डर्टमन्डको ६३ अंक छ ।

Loading...