काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति आएको बताइएको छ ।
यी कार्यालय र त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुको विवस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
यस्तै नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।
थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उनले बताए । साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ । थप विवरण आउन बाँकी रहेको उनले बताए ।







